stcnepal long ad
global ime bank long

बंगालको खाडी र मध्य भारतबाट एकैसाथ मौसम सकृय हुँदा भारी वर्षा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा असोज अन्तिम साताबाट मनसुन बाहिरिएलगत्तै यति ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन। एक्कासि मौसम बदली भएर नेपालभर दुई दिनदेखि वर्षा हुँदा पाकेको र पाक्न लागेको धान बाली धेरै नष्ट भएको छ।

साथै बाढी,डुबान र पहिरोले देशभर नै ठुलो धनजनको क्षति गरेको छ। नेपालमा दुईवटा मौसमी प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा भएको मौसमविद्ले बताएका छन्।

हाल बंगालको खाडीमा र मध्यभारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यूनचापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा भारी वर्षा भएको छ। यसले आगामी बिहीबार बिहानसम्मै प्रभाव पार्ने भएको छ। बिहीबार दिउँसोबाट भने मौसम खुल्दै जानेछ।

यो प्रणाली असोज ३१ बाटै सक्रिय भएको थियो। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै सार्वजनिक गरेर सतर्क गराएको थियो।

दुईवटा प्रणाली सक्रिय हुँदा पश्चिम नेपाल विशेषगरी सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित भएको छ। नेपालका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण प्रभावितको उद्धार तथा राहतमा मुलुककै ध्यान केन्द्रित भएको छ। यकिन विवरण आइनसके पनि विभिन्न १२ भन्दा बढी जिल्लालाई प्रत्यक्ष प्रभाव पारेको छ।

डोटीमा दुई र डडेल्धुरा तथा कालिकोटमा एक–एक गरी चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। वर्षाका कारण कालिकोट, डडेल्धुरा, बझाङ, गुल्मी, प्युठान, अछाम, डोटी, पाल्पा, कञ्चनपुर, दैलेख र बर्दियामा बढी प्रभाव परेको छ। मुख्यगरी सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला तथा त्यसका सहायक नदीमा बाढीको बहाव उच्च रहेको छ।

प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडकखण्ड, बझाङको जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी पहिरोका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि डुबानमा परेका कञ्चनपुरका दुई सय प्रभावितलाई भने सुरक्षाकर्मी र स्थानीय प्रशासनको पहलमा उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

ठाउँठाउँमा फसेकालाई अहिले पनि जिल्लास्तरबाट उद्धार कार्य जारी रहेको गृह मन्त्रालयको विपत् व्यवस्थापन महाशाखाले जानकारी दिएको छ ।

खराब मौसमका कारण विभिन्न पर्यटकीय क्षेत्रमा पुगेका पर्यटक समेत प्रभावित भएका छन्। सडक अवरुद्ध हुँदा कति ठाउँका पर्यटक फर्कन नसकेको बताइएको छ। प्रहरीका अनुसार सुदूरपश्चिमका अधिकांश सडक अवरुद्ध भएको छ।

प्रतिकूल मौसमका कारण हवाई उडानसमेत प्रभावित हुन पुगेको छ। सञ्चार सम्पर्क समेत अवरुद्ध भएको छ।

IME Lifesidebar
kumari