मार्जिन कारोबारको अव्यवहारिक प्रावधान हटाईंदै, कहाँ पुग्यो संशोधन प्रक्रिया ?

आर्थिक सञ्जाल शुक्रबार,३० फागुन २०७६ काठमाडौं ।
काठमाडौं । ब्रोकर मार्फत सुरु गरिएको मार्जिन लेन्डिङमा आम लगानीकर्ताले चासो नदेखाएपछि कार्यविधि संशोधन प्रक्रिया अघि बढिरहेको छ । यसैक्रममा कार्यविधि संशोधन गर्न बनेको समितिले अध्ययन सहितको आफ्नो प्रतिवेदन नेपाल धितोपत्र बोर्डमा पठाएको छ । अध्ययन समितिले मार्जिन ऋणका लागि विद्यमान कार्यविधिमा भएको सेयर खरिद गर्न ५०% रकम मात्र कर्जा पाउन सक्ने व्यवस्था परिमार्जन गरी बैंकहरुले सरह ६५% सम्म दिन पाउने प्रावधान राख्न सुझाव दिएको छ ।
हाल बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ६५% सम्म कर्जा दिन पाउने व्यवस्था छ । यही प्रावधान ब्रोकर मार्फत हुने मार्जिन कारोबारमा पनि गर्न सुझाव दिइएको हो । धितो रकम कम भएपछि लगानीकर्ता मार्जिन ऋणमा आकर्षित भएका छैनन् । उनीहरु बैंक तथा वित्तीय संस्थाबाटै कर्जा लिइरहेका छन् । यस्तै, अहिलेको प्रावधान अनुसार कुल प्राप्त मार्जिन ऋणको जम्मा १०% रकम मात्र एउटा कम्पनीमा लगानी गर्न पाइने व्यवस्था रहेको छ ।
यो प्रावधान पनि निकै अव्यवहारिक भएको भन्दै व्यापक आलोचना भइरहेको छ । अध्ययन समितिले यस प्रावधालनई पनि संशोधन गर्न धितोपत्र बोर्डमा रायसहितको अध्ययन प्रतिवेदन पेश गरेको छ । अध्ययन प्रतिवेदनमा ६५% सम्म रकम ब्रोकरमार्फत मार्जिन पाउने र बाँकी रकम लगानीकर्ताले थप्ने व्यवस्था गर्न सुझाव दिइएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । यसैगरी, कुल मार्जिन ऋणको जम्मा १०% मात्र रकम मात्र एउटा कम्पनीमा लगानी गर्न पाइने व्यवस्था हटाउन पनि सिफारिस गरिएको छ ।
धितोपत्र वा वित्तीय औजार खरिदबिक्री गर्दा दलाल व्यवसायी वा मार्जिन ऋण प्रदायकसँग निश्चित प्रतिशत ऋण सुविधा लिई दोस्रो बजारमा ब्रोकर मार्फत गरिने कारोबारलाई मार्जिन कारोबार भनिन्छ । त्यस्तै, दोस्रो बजारमा आउन सक्ने सम्भावित अवसरहरुमा मुनाफा गर्ने उद्देश्यले धितोपत्र तथा अन्य वित्तीय औजार खरिद क्षमता बढाउन लिइने ऋण सुविधालाई मार्जिन ऋण सुविधा भनिन्छ ।
मार्जिन कारोबारको कुल खरिद रकममा ऋणी ग्राहकले ब्रोकर व्यवसायीलाई बुझाएको (मार्जिन कल भएमा मार्जिन कल वापत बुझाएको) रकम घटाई बाँकी रहेको रकमलाई मार्जिन ऋण भनिन्छ । मार्जिन कारोबारका लागि एउटा छुट्टै खाता खोलिएको हुन्छ । मार्जिन कारोबार गरिएको सेयर त्यसै खातामा जम्मा हुन्छ भने बैंक हिसाब पनि मार्जिन खातामा नै राखिन्छ । मार्जिन कारोबारको उक्त अभिलेख दैनिक रुपमा राखेर नेप्सेलाई जानकारी गराउनुपर्ने हुन्छ । यो विषयमा लगानीकर्ताले पनि जानकारी दिनुपर्छ ।