सेयर कारोबार दिनको ५ घन्टा बनाउन गृहकार्य, १ मिनेटमा २ करोडको कारोबार !
काठमाडौं ।सेयर बजार बढ्न थालेपछि दैनिक कारोबार समय बढाउन गृहकार्य सुरु भएको छ । पछिल्ला केही महिनायता सेयर बजारमा नयाँ उत्साह थपिएको छ । दैनिक कारोबार रकम ५ अर्ब हाराहारीमा पुग्न लागिसकेको छ । कारोबार रकम तथा लगानीकर्ता दुवै वृद्धि भएको भन्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्रत्येक दिन कारोबार समय १ घन्टा बढाउन खोजिएको बताएको छ । यसका लागि बोर्ड (सेबोन) सञ्चालक समितिको बैठकमा यसबारे छलफल भएको छ ।
बोर्डले समय थप्न प्रविधि तथा अन्य व्यवहारिक हिसाबले सकिन्छ कि सकिंदैन भनेर आवश्यक राय सुझाव समेत मागेको छ । धितोपत्र बोर्ड स्रोतले यसको पुष्टि गरेको छ । अहिलेको प्रारम्भिक छलफल अनुसार बोर्डले बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म सेयर कारोबार गर्नका लागि उचित हुने निष्कर्ष निकालेको छ । यसै अनुसार नेप्सेसँग पन राय सुझाव मागेको हो ।
नेप्से स्रोतले भन्यो, ‘बोर्डले २–३ दिन अगाडि पत्र पठाए पनि यसबारेमा आवश्यक छलफल सुरु भएको छैन ।’ अवश्यक अध्ययन र पूर्वधार विकास गरेर मात्रै प्रक्रिया अगाडि बढाइने नेप्से सम्बद्ध एक अधिकारीले नेपाली पैसालाई जानकारी दिए । यद्दपि, बोर्डले कारोबार अवधि बढाउने विषयलाई आफ्नो वार्षिक नीति तथा कार्याक्रमा नै समेटेको छ । सोही अनुरुप बोर्डले नेप्सेसँग राय माग गरेको हो ।
बोर्डले नेप्सेलाई कारोबार समय बढाउनका लागि पत्र काटेसँगै राफसाफमा पनि ध्यान दिन सकरोकारवालाहरुले आग्रह गरेका छन् । लगानीकर्ताको छाता संगठन नेपाल इभेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले कारोबार समय बढ्नु लगानीकर्ताका लागि निकै खुशीको कुरा भएको बताए । तर योसँगै नेप्से तथा सीडीएसको प्रणालीमा पनि सुधार ल्याउन आवश्यक हुन्छ ।
उनले भने, ‘पछिल्लो समय कारोबार रकमले दिनदिनै रेकर्ड ब्रेक गर्दै गएको छ । यस्तो अवस्थामा राफसाफलाई चुस्तदुस्त बनाउनका लागि नेप्से तथा सीडीएसको प्रणालीमा सुधार ल्याउनुपर्छ ।’ कहिलेकाँही प्रणालीमा समस्या आउँदा राफसाफमा पनि केही कठिनाई हुने गरेको छ । समय थपेपछि कारोबार अझै बढ्ने भएकाले प्रणाली सुधार्नुपर्ने लगानीकर्ताको बुझाई हो ।