बैंकको ब्याज घट्दा सर्वसाधारण जीवन बीमातर्फ आकर्षित भइरहेका छन्

अर्थतन्त्रको सुस्तता लम्बिँदै जाँदा यसले प्रायस् सबै क्षेत्रलाई असर पार्दै गएको छ । यसबीचमा बीमा क्षेत्रमा पनि यसको प्रभाव परेको छ । जीवन बीमातर्फ पोलिसी सरेन्डर बढिरहेको छ । पछिल्लो समय नेपालको जीवन बीमा बजार कहाँ र कस्तो अवस्थामा छ, के कस्ता काम भइरहेका छन् भन्नेबारे नेपालको जीवन बीमातर्फ सबैभन्दा धेरै हिस्सा ओगेट्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीसँग गरेको कुराकानीको सार:
नेपालको अहिलेको अवस्था हेर्दा जीवन बीमा बजार कस्तो देखिन्छ ?कुन अवस्थामा देखिन्छ ?
समग्रमा नेपालको जीवन बीमा बजार चालु आर्थिक वर्षमा उत्साहित नै देखिन्छ । विगत दुई वर्ष प्रथम बीमा शुल्क संकलनमा गिरावट आएको थियो । कोरोना महामारीपछि प्रथम बीमा शुल्क संकलन घटेकोमा पछि स्थिर अवस्थामा रह्यो । गत आवको अन्तिममा केही वृद्धि देखियो भने यो आवको अहिलेसम्ममा झन्डै ३० प्रतिशतले प्रथम बीमा शुल्क संकलन बढेको देखिन्छ । नवीकरणतर्फ हेर्ने हो भने अर्थतन्त्रको सुस्तताका कारण पनि केही घटेको छ । यसतर्फ केही चुनौती छन् । प्रथम बीमा शुल्कको हिसाबले हेर्दा अर्थतन्त्रमा आएको सुस्तता रहि नै रहेको सन्दर्भमा यो उत्साहजनक हो ।
अर्थतन्त्रको सुस्तता कायम नै छ । यसबीचमा प्रथम बीमा शुल्कमा दोहोरो अंकको वृद्धि कसरी सम्भव भयो ?
आजको दिनमा बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगत वा संस्थागत दुवैमा पाँच–साढे पाँच प्रतिशत हाराहारीमा मात्रै रहेको छ । व्यक्तिले ब्याजदर नै हेरेर मुद्दतिमा निक्षेप राख्दा पनि त्यति धेरै ब्याज आएको छैन । ग्राहकको हिसाबले बीमामा हेर्ने हो भने जोखिम सुरक्षा प्राथमिक कुरा भयो । त्यसबाहेक बचतलाई प्राथमिकता दिएर जीवन बीमामा बचत गर्ने हो भने दुईवटा लाभ एकैपटक पाइरहेको अवस्था छ ।
जसमा एउटा आफ्नो जोखिमलाई सुरक्षा गर्ने भयो । किस्ता तिर्दै जाँदा जोखिम सुरक्षा पनि हुँदै गएको हुन्छ । दोस्रो लाभ भनेको बचत योजना हो । बचत योजना लिँदा नेपाल लाइफकै कुरा गर्दा पनि औसत बोनस दर ५० प्रतिशतभन्दा माथि नै छ ।
केही विशेष प्रोडक्टमा ६० प्रशितभन्दा माथि नै बोनस दर रहेको छ । त्यसकारण बचतका लागि बैंकमा जाने कि बीमामा भन्दा बीमा नै ठीक हो । यही अवस्थाले पनि अहिले जीवन बीमाप्रति नागरिकलाई उत्साहित बनाएको देखिएको छ । अर्थतन्त्रको सुस्तता लम्बिरहेको छ । नेपालमा सामान्यतया तरलता ६–७ महिनामा घटबढ भइरहेको देखिन्थ्यो ।
तर, अहिले यो लामो समय तरलता नघटेको अवस्था छ । कोरोना महामारीपछि नागरिकको मनोबल संंकुचित भएको र त्यसले सबै क्षेत्रमा असर पारेको देखिन्छ । जसले अहिले लगानीका लागिसमेत मनोबल बढ्न सकेको छैन । सबै क्षेत्र पर्ख र हेरको नीतिमा छन् ।
सेयर बजार अगाडि बढ्न खोजे पनि कता–कता अड्किरहेको जस्तो देखिन्छ । अहिले नागरिकले आर्थिक गतिविधिमा सक्रियता देखाउन सकेका छैनन् । यसले जीवन बीमामा केही असर पर्ने देखिन्छ । तर, सरकारले केही समयअघि मात्रै अध्यादेशमार्फत केही नीतिगत संशोधन गरेको छ । जसले बिस्तारै नागरिकदेखि निजी क्षेत्रसम्ममा मनोबल बढाउँदै लैजाने अपेक्षा छ ।
पछिल्लो समय सरेन्डर गर्नेको संख्या एकदमै बढिरहेको छ । यो अर्थतन्त्र सुस्तताकै असर होला यो । यसलाई कसरी कम गर्ने ?
पछिल्लो समय अर्थतन्त्रको सुस्ततालगायतका कारण सरेन्डर बढिरहेको छ । यो बढ्नुमा सचेतनाले नै भूमिका खेलेको हुन्छ । सबै आर्थिक स्रोत बन्द भएको अवस्थामा जीवन बीमामा पोलिसी सरेन्डर गर्ने हो । सरेन्डर कत्तिको आवश्यक छ भनेर बुझाउन सक्नुपर्छ । हिजोका दिनमा जति रकममा पोलिसी लिनुभएको थियो, आजको दिनमा त्यो पाउनुुहुन्न भन्ने पनि बीमितलाई बुझाउन जरुरी हुन्छ । यस्तै बीमितले कर्जा सुविधा उपयोग गर्न पनि सक्छ । तीन वर्षको समय भइसकेपछि कर्जा लिएर पनि पोलिसीलाई निरन्तरता दिनुपर्छ । यी सबै कुराको सचेतना बीमितलाई दिन सकिएमा सरेन्डर कम हुन सक्छ ।
तपाईंले बीमा क्षेत्रमा नेतृत्व सम्हाल्ने गरी प्रवेश गर्दा र अहिलेको अवस्थालाई तुलनात्मक रूपमा हेर्ने हो भने जीवन बीमाको वृद्धि, विस्तार लगायतका सूचकहरू कस्तो देखिन्छ रु यो ८–१० वर्षको बीचमा केकस्ता उपलब्धि हासिल भए ?
म यस क्षेत्रमा प्रवेश गरेको आठ वर्ष भयो । त्यतिखेर बीमाको पहुँच राम्रो भइसकेको थिएन । भर्खर लाइसेन्स पाएर १० बीमा कम्पनी आएका थिए । त्यतिबेला कोर व्यवसायमा बीमा पहुँच ७ प्रतिशत हाराहारीमा थियो । त्यो बढेर आजको दिनमा १८–१९ प्रतिशत पुगेको छ । कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० सँगको योगदान नै हेर्ने हो भने ३।४ को हाराहारीमा जीवन बीमाले योगदान गरिरहेको देखिन्छ ।
भारतमा पनि यही प्रतिशतमा योगदान दिएको देखिन्छ । अहिले पुँजी, कम्पनी, व्यापार, लगानी सबै बढेको छ । यो क्षेत्र अहिले आफैंमा बृहत् बन्दै गएको छ । नियामकको रूपमा हेर्दा पनि नयाँ नीतिनियम आएका छन् । नयाँ प्राधिकरण, नयाँ ऐन, नियमावली पनि आएको अवस्था छ । यसले यो क्षेत्र विस्तार हुँदै गएको छ ।
यति हुँदाहुँदै पनि नागरिक अझै पनि जीवन बीमामा आकर्षित हुन धेरै बाँकी छन् । हामीसँग कहाँ ग्याप छ रु बुझाउन किन सकिएन ?
बीमा भनेको बैंकिङ नै हो भनेर बुझ्न हुँदैन । बीमा भिन्दै खालको आवश्यकता हो । बैंकिङ ‘पुल’ प्रडक्ट हो भने बीमा ‘पुस’ प्रडक्ट हो । बैंक मानिस आवश्यक भएर वा चाहिएर जाने गर्छ । तर, बीमामा त्यस्तो हुँदैन । मलाई चाहियो भनेर बीमा गर्न आफैं आउने नागरिक एक प्रतिशत होलान् । बाँकी ९९ प्रतिशतलाई अभिकर्ताको माध्यमबाट बीमा गराउन उत्प्रेरित गरिन्छ । अहिले पनि बीमाप्रति मानिसको चेतना कम छ ।
साथै, यो आफैंमा ‘पुस’ प्रडक्ट भएका कारण पनि सबैमा पुग्न समय लागेको हो । जतिसम्म मानिसलाई बीमा आवश्यकता हो है भनेर सचेत गराउन सक्छौं, जति धेरै मानिसलाई बुझाउन सक्छौं, त्यति धेरै यसतर्फ नागरिक आकर्षित हुन्छन् ।
त्यसकारण अहिले बीमा सचेतना वा साक्षरताकै धेरै आवश्यकता छ । ग्रासरुट लेभलमा आजका पुस्ता वा अहिलेका बालबालिकालाई बीमातर्फ आकर्षित गर्दै जाँदा त्यसले बीमाको विस्तार हुँदै जान्छ ।
कुनै पनि बालबालिकाले उसले आफैं कमाउने दिनसम्ममा बीमा अनिवार्य आवश्यकता हो भन्ने बुझ्न सकेमा बीमाप्रति नागरिकको आकर्षण र संलग्नता थपिँदै जान्छ । स्कुल, कलेजलगायतमा समेत हामीले विद्यार्थीलाई बीमाबारे बुझाउँदै गयौं भने आगामी दिनमा जीवन बीमा थप अगाडि जान्छ । जसले कम्पनीको व्यवसाय, जीवन बीमाको पहुँचलगायत सबैमा वृद्धि हुँदै जान्छ ।
अहिले धेरै युवा जमात नै बीमामा नलागेको अवस्था छ । युवा पुस्ताले बीमा गर्न निकै झन्झटिलो हुने गरेको बताउने गरेका छन् । युवा पुस्तालाई यसतर्फ आकर्षित गर्न कसरी सकिएला ?
आजको दिनमा त बीमा बचतको पनि सर्वोत्तम विकल्प हो । बैंकमा भन्दा राम्रो प्रतिफल बीमामा आइरहेको अवस्था छ । यसबाहेक राज्यले पनि कर छुट सुविधा दिएको छ, जीवन बीमा गर्ने नागरिकलाई । करयोग्य आयको ४० हजार रुपैयाँसम्म जीवन बीमालाई तिरिरहेको छ भने त्यसलाई करयोग्य आयबाट घटाउन सकिन्छ ।
यी सबै प्रत्यक्ष लाभ हुन् । यहीँबाट बीमाको सुरुवात गर्न सकिन्छ । त्यसपछि बीमाको महत्त्व बुझ्दै जाँदा पनि आफूलाई आवश्यक पर्ने प्रडक्टहरू लिने अवस्था आउँछ । आफ्नो आवश्यकता, आम्दानीमा भएको वृद्धि र जोखिमको सुरक्षा गर्ने गरी समायोजन गरेर जीवन बीमामा अगाडि बढ्न सकिन्छ ।
जीवन बीमाको साक्षरता निकै भइरहेको छ । तर, त्यसको प्रभाव कम देखिएको भन्ने बुझाइ छ । बीमा साक्षरतापश्चात् बीमामा आकर्षण बढाउन किन सकिएन ?
बीमा साक्षरताबाट जीवन बीमामा आकर्षण बढेको छ, नबढेको होइन । अहिलेसम्म बीमाको दायरा बढेको छ । सात–आठ वर्षमा जीवन बीमाको दायरा ७ प्रतिशतबाट बढेर १७–१८ पुगेको छ । अबचाहिँ के गर्ने भन्नेबारे सोच्नुपर्ने आवश्यकता छ ।
राज्य, बीमा कम्पनी, नियामक, अभिकर्तालगायतले आ–आफ्नो तर्फबाट के गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्छ । करयोग्य आयको ४० हजार रुपैयाँ छुट सीमालाई बढाएर १ लाखसम्म पुर्याउन सकिए पनि त्यसले जीवन बीमामा धेरै नागरिक आउने अवस्था सिर्जना हुने देखिन्छ । यस्ता विषयमा सबै पक्षले सोचविचार गरेर समन्वयका साथ अगाडि बढ्नुपर्ने देखिन्छ ।
अर्थतन्त्रको सुस्तताकै बीच नेपाल लाइफले २१ प्रतिशतभन्दा बढी डिभिडेन्ड लगानीकर्तालाई दिएको देखिन्छ । यो कसरी सम्भव भयो ?
यसमा मुख्य कुरा भनेको संकलित प्रिमियमको लगानी हो । लगानीलाई विविधीकरण गर्ने, लगानीको प्रतिफललाई कसरी सुनिश्चित गर्नेलगायतका कुराले यसलाई निर्धारण गर्छन् । आयलाई बढी कसरी गर्ने र खर्च व्यवस्थापन कसरी गर्ने भन्नेबारे सन्तुलन मिलाउन सक्दा हामीलाई सहज भयो । आय र खर्चको सन्तुलन मिलाउन सक्दा पनि यो सम्भव भएको हो । नेपाल लाइफले लगानी विविधीकरणका लागि नयाँ संस्था नै स्थापना गरेर अगाडि बढिरहेको छ । यी सबै कामको प्रतिफल हो त्यो ।
लगानी विविधीकरणको कुरा गर्नुभयो । मुद्दति निक्षेपमा ८०–९० प्रतिशत नै जीवन बीमाले लगानी गरेको देखिन्छ । अनि कसरी लगानी विविधीकरण भयो त ?
हामीले जेजे प्रिमियम संकलन गर्छौं, त्यो सबै हाम्रो दायित्व हो । हामीले कुनै समयमा वा पोलिसी परिपक्व हुँदा वा भवितव्यबीचमै केही भइहालेमा फिर्ता गर्नुपर्ने हुन्छ । त्यसबाट बोनस पनि दिनुपर्ने हुन्छ । सेयर होल्डरहरूको वार्षिक रूपमा आउने प्रतिफलमा अपेक्षा हुन्छ । यी सबैलाई हामीले संयोजन गरेर जानुपर्ने हुन्छ । त्यसकारण यसलाई संस्थाले कति सन्तुलन गरेर लगिरहेको छ भन्ने महत्त्वपूर्ण हुन्छ ।
आजको दिनमा बीमा प्राधिकरणले दिएको गाइडलाइन प्रिमियमको सुरक्षा गर्नु पनि मुख्य कुरा हुन्छ । त्यसकारण हामीले तिर्नुपर्ने रकमलाई प्रतिफल आउला भन्ने हिसाबले उच्च जोखिम वहन गरेर लगानी गर्न सक्दैनौँ ।
गाइडलाइनअनुसार पनि न्यूनतम ३० प्रतिशतभन्दा बढी लगानी बैंक तथा वित्तीय संस्थामा हुनुपर्ने भनिएको छ । त्यसकारण पनि बैंक तथा वित्तीय संस्थामा लगानी बढाइएको हुन्छ । नागरिकको रकमको सुरक्षा पहिलो र प्रतिफल दोस्रो कुरा हो । यी दुवै कुरालाई सन्तुलित गरेर लैजानुपर्ने हुन्छ ।
नेपाल लाइफले लगानी विविधीकरणमा विभिन्न काम गरिरहेको छ । अहिले लगानीका लागि छुट्टै कम्पनी स्थापना गरेर नै काम गरिरहेको छ । सो कम्पनी मार्फत केके काम गर्न लाग्नुभएको हो ?
अहिले नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी स्थापनाको काम भइरहेको छ । विभिन्न क्षेत्रमा हुने लगानीलाई सो कम्पनीमार्फत बढाउँदै जाने भन्ने मुख्य लक्ष्य हो । यो हाम्रो पूर्ण स्वामित्वमा रहेको छ । ५ अर्बको अधिकृत पुँजी र १।८ अर्ब चुक्ता पुँजी भएको ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी’ सञ्चालनका लागि प्रक्रियामा गइसकेको छ ।
यससँगै शिक्षा, जलविद्युत, हस्पिटालिटी, सोलारलगायतका क्षेत्रमा हामीले लगानी गरिरहेका छौं । यी सबैले हामी लगानी विविधीकरणमा अगाडि बढिरहेको देखाउँछ । राज्यले दिएको नीतिनियमभित्र रहेर प्रिमियम सुरक्षित गर्दै प्रतिफल बढाउँदै लैजाने र भ्यालु क्रियट सिर्जना गर्दै जाने काममा हामी लागिरहेका छौं ।
अहिले बीमा क्षेत्रमा चुनौती बढ्दै गइरहेका छन् । तपाईंले अहिले केकस्ता चुनौती बढी देखिरहनुभएको छ रु त्यसको समाधानका लागि के–के गर्न सकिन्छ ?
बीमा क्षेत्रमा नयाँ तथा पुराना कुराहरू चुनौतीका रूपमा रहेका छन् । अहिले धेरै छोटो समयमा नीतिनियम आइरहेको छ । विगतमा हामीले फ्युचर रिजर्भिङलगायतका कुरा भन्यौं । जसले एक लेभलमा संस्थालाई बलियो बनाउने काम भइरहेको छ ।
तर, हिजोका दिनमा भएका बोनस दरहरू बीमितले पाउँथे, अहिले फ्युचर रिजर्भिङ न्यूनतम पनि ५० प्रतिशतभन्दा माथि राख्नुपर्ने अवस्थाले केही न केही असर परेको छ । यो पनि एउटा चुनौतीको विषय हो । यसलाई बुझाउन समय लागिरहेको छ ।
यस्तै, अहिले जोखिममा आधारित पुँजी(रिस्क बेस क्यापिटल) भनेर हामीले गत आवको पुसदेखि १ सय प्रतिशत एडप्ट गर्न पनि पाइयो वा चौथो वर्षसम्म गएर त्यसो गर्न पनि पाइयो । यसबाट केही चुनौती सिर्जना भएका छन् ।
यो भनेको अन्तर्राष्ट्रिय अभ्यासमा आधारित नीति हो । सुरक्षित भएको क्षेत्रमा बढी लगानी गर्नुपर्ने हुन्छ । ‘क’ वर्गका बैंकमा सुरक्षित हो भन्ने भएर बढी लगानी भएको देखिन्छ । बाहिरी मुलुकमा सरकारका लगानीका अन्य क्षेत्र ९गभर्नेन्ट सेक्युरिटी०मा लगानी गरिन्छ ।
किनकि त्यो बढी सुरक्षित हुन्छ र अवधि पनि १५–२० वर्ष हुन्छ । साथै, त्यसबाट पाउने प्रतिफल पनि बैंक–वित्तीय संस्थाको मुद्दति निक्षेपको भन्दा राम्रो हुन्छ । त्यस खालको क्षेत्रमा ५०–६० प्रतिशत लगानी हुन्छ । हाम्रोमा त्यस किसिमको लगानीको क्षेत्र नै धेरै छैन ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो तरलता व्यवस्थापन गर्नका लागि त्यसमा थोरै दरमा लगानी गरिरहेका हुन्छन् । त्यसबाट हाम्रो आवश्यकता र अपेक्षा दुवै पूरा हुन सक्दैनन् । त्यसकारण त्यस्तो किसिमको लगानीको क्षेत्र नै छैन ।
यसबाट जोखिममा आधारित लगानीका लागि पर्याप्त औजार छैनन् । हामी बैंक तथा वित्तीय क्षेत्रमा लगानी गर्छौं, त्यसमा कम जोखिम छ है भनेर भनिएको छ तर अन्तर्राष्ट्रिय अभ्यासमा उच्च जोखिम बनाइदिएका छौं । यसले संस्थागत रूपमा क्यापिटल चार्ज उच्च हुन्छ ।
त्यसकारण यसलाई नेपालको परिप्रेक्ष्यमा मिल्ने खालको, समयसापेक्ष बनाउन जरुरी छ । यस्तै लगानी विविधीकरणका कुरा छन् । संस्थागत रूपमा कुनै पनि सहायक कम्पनीबाट लगानी गर्दै जाँदा त्यसका लागि केही समय लाग्छ ।
त्यो लगानीको प्रतिफल आउनका लागि त्यो संस्था भोलि के भन्ने प्रश्न रहन्छ । आईपीओमा जान पनि केही वर्ष लाग्छ, लगानीकर्ताको हिसाबले त्यहाँ लक–इन भएर बस्ने समय अरू तीन–चार वर्ष हुन्छ । यसरी जाँदा त ६–७ वर्ष कम्तीमा पनि लाग्छ प्रतिफल लिनका लागि ।
त्यसकारण यस किसिमका कम्पनीलाई १० वर्षसम्मको समयलाई केही लचकता र सहजीकरण दिन सक्नुपर्छ । यस कुरालाई ऐनले समेटेर जानुपर्नेछ । यस्तै कर्पोरेट करमा पनि चुनौती छ । अहिले कर्पोरेट कर जीवन बीमाको २५ प्रतिशत छ ।
तर, आम्दानी र खर्चको हिसाबले हेर्ने हो भने प्रिमियमको लगानीबाट आउने प्रतिफल आयको हिसाबले आउँछ । अन्य लगानीबाट आउने डिभिडेन्डलगायत सबै आयकै रूपमा आउँछ । हाम्रो खर्च प्रशासनिक, एचआर सम्बन्धित, साथै कुनै पनि पोलिसी होल्डरलाई दिने बोनस पनि कमाइबाट दिइन्छ । त्यो वर्ष कुनै पनि मृत्यु दाबी आयो भने पनि त्यसमा भुक्तानी दिने रकम पनि अहिलेको कर नीतिले बनाएको संरचनाले खर्चमा गणना गर्न दिइएको छैन ।
यो सैद्धान्तिक रूपमा पनि मेल खाएको देखिँदैन । संस्थाहरू जति पुराना हुँदै जान्छन्, त्यो झन् बढ्दै जान्छ । यो बीमा क्षेत्रको स्थिरताका लागि पनि पुनर्विचार गरिनुपर्छ । यसकारण नीतिगत रूपमा करको गणना गर्ने विधिलाई समयसापेक्ष बनाइनुपर्छ ।
यसबाहेक नेपाल राष्ट्र बैंकका केही नीतिले आजसम्म पनि समस्या भइरहेको छ । व्यक्तिलाई भन्दा संस्थालाई बैंकहरूले मुद्दतिमा दिने ब्याजदर १ प्रतिशत कम गराइएको छ । ब्याजदर घटेका बेला यो नीतिले थप समस्या नै पारेको छ ।
संस्थागत र व्यक्तिगत लगानीकर्तालाई गरिएको भिन्नता जुन गरिएको छ, त्यतिखेरको समयमा बैंकको आधार दर नै धेरै भएको र कर्जाको ब्याजदर नै एकल अंकमा झार्नुपर्छ भन्ने नीति थियो । त्यस समयमा सबैले स्विकारेका थिए ।
तर, आजको दिनमा आधारदर ६ प्रतिशत हाराहारीमा आइसकेको छ । त्यस्तो अवस्थामा त्यो नीतिमा समयसापेक्ष सुधार हुनुपर्ने थियो । त्यसकारण यस किसिमको नीतिनियम संशोधन गर्नु अहिलेको आवश्यकता हो ।
पोलिसी रि–इन्स्योरेन्स गर्दा स्वदेशमै भएका कम्पनीमार्फत गर्नुपर्ने गरी अनिवार्य गरिएको छ, यसले कस्तो असर पार्छ ?
यो नीति बीमाको सिद्धान्तविपरीत भएको हाम्रो बुझाइ छ । बीमाको सिद्धान्त भनेको नै जोखिम विविधीकरण हो । तर, हामीले सबै जोखिम मुलुकमा भएका दुईवटा पुनर्बीमा कम्पनीमा थुपारिरहेका छौं । यो सैद्धान्तिक हिसाबले पनि मिल्दैन । त्यसकारण यसलाई पहिले उनीहरूको क्षमताअनुसार जोखिम लिने र बाँकी बाहिर पठाउने भए राम्रो हुनुपर्छ ।
उहाँहरूले देशभरिको जोखिम लिएर गएर अर्को एक–दुईवटा कम्पनीलाई नै दिने हो । तर, हामीले नै पुनर्बीमा गराएको भए कम्तीमा १४ वटा जीवन बीमा कम्पनीले विदेशका पाँच–सातवटा पुनर्बीमा कम्पनीमा जोखिम हस्तान्तरण गर्न सक्थ्यौं । त्यसले जोखिम हस्तान्तर पनि हुन्थ्यो । त्यो जोखिम आजको दिनमा यहीँ थुपार्ने काम भइरहेको छ । राज्यले यस्ता नीतिमा पुनर्विचार गर्नुपर्छ ।