सरकारले बीमा शिक्षामा जोड दिनुपर्छ
प्रभु इन्स्योरेन्स लिमिटेड नेपालमा स्थापित निर्जीवन बीमा कम्पनीहरुमध्ये एक अग्रणी बीमा कम्पनी हो । २०५३ सालमा नेपालका प्रतिष्ठित औद्योगिक र व्यापारिक समुहद्वारा यो कम्पनी स्थापित भएको थियो। यस कम्पनीमा प्रभु समुह र कर्मचारी संचय कोषको प्रमुख सेयर हिस्सा रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४४ करोड भन्दा अधिक रहेको छ भने ६१ वटा शाखा तथा उप–शाखा मार्फत देशभरिनै बीमा सेवा प्रदान गरिरहेको छ । यस कम्पनीको अध्यक्षमा प्रतिष्ठित उद्यमी तथा व्यवसायी राजेन्द्र मल्ल हालै निर्वाचित हुनु भएको छ।
यस इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कुशल व्यवस्थापक सन्चित बज्राचार्य रहनु भएको छ । यस कम्पनीले स्थापना भएदेखि हालसम्मनै नेपालको निर्जीवन बिमाको क्षेत्रमा एक प्रतिष्ठित र भरपर्दो बीमकको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
कम्पनीले समयानुकुल आफ्ना ग्राहकहरुको लागि आवश्यकता अनुसारका बीमालेखहरु प्रयोगमा ल्याई ग्राहकहरुलाई उच्च स्तरिय बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।
‘बीमितको भविष्यको रक्षा गर्दै अगाडि बढ्नेू मूल नाराका साथ बीमा सम्वन्धी नयाँ–नयाँ क्षेत्रहरुको पहिचान गरि नयाँ बीमा योजनाका साथ ग्राहकमुखी सेवालाई प्रभावकारी बनाउँदै प्रतिस्पर्धी बीमा कम्पनीको रुपमा स्थापित हुँदै आएको छ।
नेपालको बीमा व्यवसाय,प्रभू इन्स्योरेन्स लि. को बीमा व्यवसाय र समग्र बीमा क्षेत्रका विषयमा केन्द्रीत रहेर आर्थिक सञ्जालका प्रधान सम्पादक निरज रञ्जितले सिईओ बज्राचार्यसँग लिनु भएको अन्तर्वार्ता :
प्रभू इन्स्योरेन्स लिमिटेडको वित्तीय अवस्था कस्तो छ ?
हाम्रो कम्पनी स्थापना भएको २७ वर्ष पूरा भएर २८ वर्षमा प्रवेश गरिसकेको छ। यो कम्पनीको स्थापना २०५३ सालमा निर्जीवन बीमा व्यवसायबाट शुरुवात भएको थियो। यसबीचमा हामीले गत २०८१ बैशाख २० गते २८ ओैं साधारण सभा सम्पन्न गरिसकेका छौ।
कम्पनी स्थापनाको प्रारम्भिक अवस्थामा ५ करोड रुपैयाँ चुक्तापूँजी रहेको थियो । आज उक्त ५ करोड पुँजीमा स्थापना भएको कम्पनीको पुँजी १ अर्ब ४४ करोड भन्दा बढी रुपैयाँ भैसकेको छ । यो कम्पनी हरेक हिसाबमा सशक्त हुँदै आएको छ ।
यो इन्स्योरेन्स पहिला एलायन्स इन्स्योरेन्स थियो हैन ?
सुरूमा एलायन्स इन्स्योरेन्स लिमिटेडको नामबाट निर्जीवन बीमा ब्यवसाय शुभारम्भ गरेको थियो। यस कम्पनीलाई प्रभु समुहले लगानी गरेपछि नाम परिवर्तन गरि प्रभु इन्स्योरेन्स लिमिटेड राखिएको थियो ।
प्रभु इन्स्योरेन्स भएपछि यसले निरन्तर सेयर धनीहरूलाई राम्रो लाभांश दिदै आएको छ। यस कम्पनीको पहिलो सञ्चालक समितिको अध्यक्ष गोविन्द दास श्रेष्ठ र पहिलो प्रवन्ध सञ्चालक शैलेन्द्र कुमार श्रेष्ठ हुनुहुन्थ्यो ।
चुक्ता पुँजी बढाउने योजना कहाँ पुग्यो ?
यस कम्पनीले शेयरधनीहरुलाई हरेक वर्ष औषतमा पनि १४/१५ प्रतिशतको हाराहारी प्रतिफल दिदै आएको छ । जसलाई औषतमा राम्रो प्रतिफल मानिन्छ । कम्पनी अझै बलियो र सशक्त हुनका लागि हकप्रद शेयर जारी गर्ने बाटो रोजेको छ ।
जसका लागि कम्पनीले नेपाल बीमा प्राधिकरणमा ६५ प्रतिशत हकप्रद निष्काशनको लागि आशयपत्र माग गरेको छ । कम्पनीले हकप्रद शेयर मार्फत् कूल ९९ करोड २८ लाख ७२ हजार २१० रुपैयाँ थप पूँजी जुटाएर कूल चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउने लक्ष्य राखेको छ।
हाल यस कम्पनीको अन्य वित्तीय अवस्था कस्तो छ ?
तिनकुने स्थित आफ्नै भवनबाट यश कम्पनील निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा १ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा कम्पनीको जगेडा कोषमा १ करोड ४२ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा १ अर्ब रूपैयाँ भन्दा माथि छ । अब कम्पनीको चौथो त्रैमासको वित्तीय रिपोर्टमा यो भन्दा अझै बृद्धि हुनेछ । पछिल्लो वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ ।
प्रभू इन्स्योरेन्स स्थापित कम्पनी मानिन्छ,किन होला ?
प्रभु समुहको प्रमुख लगानी रहेको प्रभु इन्स्योरेन्स लिमिटेडले आजका दिनमा अन्य क्षेत्रमा जस्तै निर्जीवन बीमा व्यवसायमा पनि छुट्टै ब्राण्ड स्थापित गर्न सफल भएको छ । प्रभु इन्स्योरेन्सले ६१ वटा शाखा तथा उप शाखा कार्यालय मार्फत निर्जीवन बीमाको सुविधा देशको दुरदराजसम्म प्रदान गर्दै आएको छ ।
हाल कम्पनीले २५५ जनालाई रोजगारी प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा अझै देशको दुर्गम ठाउँसम्म शाखा विस्तार गरी आम जनतालाई सहज, सरल र प्रविधियुक्त बीमा सेवा प्रदान गर्ने कम्पनीले प्रतिबद्धता जाहेर गरेको छ ।
अहिले व्यापार व्यवसाय, आयात र उत्पादनको अवस्था त्यति राम्रो छैन तर पनि हाम्रो वित्तीय अवस्था राम्रो छ। कम्पनीले यसमा सम्पूर्ण ग्राहक, बीमा प्राधिकरण, सरोकारवाला निकायहरु, सेयरधनीहरु, व्यवसायिक प्रतिष्ठनहरु एवं शुभचिन्तकहरु प्रति कृतज्ञता व्यक्त गरेको छ ।
साथै आगामी दिनहरुमा पनि सबैको हौसला, विश्वास र सहयोगको निरन्तरका लागि अपेक्षा गरेको छ । आगामी दिनहरुमा अझ सरल सुलभ, गुणस्तरीयएवं आधुनिक सेवा प्रवाह गर्ने प्रतिवद्धता समेत कम्पनीले व्यक्त गर्दछ ।
गत आर्थिक वर्षमा कम्पनीको वित्तीय अवस्था कस्तो थियो ?
गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयर धनीहरूलाई ४.७५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.२५ नगद सेयर गरि कुल ५ प्रतिशत लाभांश दिएका छौ।
यो बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार ६७ रूपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम चुक्तापुँजी २ अर्ब ५० करोड पुरयाउन हकप्रद सेयर लगायतका सेयर जारी गर्ने २८ ओैं साधारणसभाले प्रस्ताव पारित गरिसकेको छ।
अहिले बीमा व्यवसायको अवस्था कस्तो छ ?
कम्पनीले गत आर्थिक वर्षमा सम्पत्ति बीमा,सामुन्द्रिक बीमा,मोटर बीमा,हवाई बीमा,इन्जिनियरिङ बीमा,विविध बीमा, बाली तथा पशु बीमा र माइक्रो बीमा लगायतका बीमा गरि कुल १ अर्ब ६५ करोड ८७ लाख ७७ हजार ३ सय ९५ रूपैयाँ बीमा शुल्क आर्जन गरेको थियो।
यो बीमा शुल्क अघिल्लो आर्थिक वर्षको भन्दा १६.०८ प्रतिशत अर्थात २२ करोड ९७ लाख ५५ हजार ९ रूपैयाँ बढी हो। हामीले बीमा शुल्कमा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भन्दा गत आर्थिक वर्ष २०७९/८० मा सम्पत्ति बीमामा १४.७६,सामुन्द्रिक बीमामा १३.८३,मोटर बीमामा १४.७९,हवाई बीमामा ८२.७९,इन्जिनियरिङ बीमामा ३१३.०१,विविध बीमामा ३.०९, बाली तथा पशु बीमामा २०३.४७ र माइक्रो बीमामा ४.१८ प्रतिशतले वृद्वि गर्न सफल भएका छौ।
चालु आर्थिक वर्षको कारोवारको अवस्था कस्तो छ ?
चालु आर्थिक वर्षको साउन महिनादेखि फागुन मसान्तसम्मको ८ महिनाको अवधिमा कम्पनीले १ अर्ब २० करोड १७ लाख ४४ हजार ९ सय ८ रूपैयाँको बीमा शुल्क आर्जन गरेको छ।
यो गत वर्षको सोही अवधिको तुलनामा १७ करोड ५३ लाख ८९ हजार ८ सय ५३ रूपैयाँ अर्थात १७.०९ प्रतिशत बढी हो। यस अवधिमा व्यवसायिक रूपमा जोखिमपुर्ण रहेको क्षेत्रहरूलाई न्युनीकरण गरिदै लगिएकाले विविध बीमाको शुल्क आम्दानीमा न्यून देखिन गएतापनि अन्य व्यवसायतर्फ राम्रो वृद्वि गर्न सफल भएका छौ।
यस बीमा कम्पनीका शाखा र उपशाखा कति छन ?
हाम्रा देशभरि कै प्रमुख शहरहरूमा शाखा र उपशाखा सञ्जाल गरि ६१ वटा इकाईहरू छन।
नयाँ अध्यक्ष आउनु भएको छ। यसले कम्पनीको व्यवसायमा कस्तो असर पर्ला ?
राजेन्द्र मल्ल हाम्रो कम्पनीको सञ्चालकमा पहिलादेखि नै हुनुहुन्थ्यो । उहाँ लामो समय सञ्चालक रहनु भयो। उहाँ सक्षम,योग्य,अनुभवी र इमानदार व्याक्तित्व हुनुहुन्छ।
उहाँले सधै सकारात्मक सोचका साथ बीमा व्यवसाय गर्न उत्प्रेरित गर्नु भएको छ।नीति,नियम बनाएर व्यवसाय बढाउने योजना बनाउनु भएको छ ।
त्यसैले उहाँले सधै कम्पनीको हित चिताएर काम गर्नु भएको छ, नीतिगत मार्गनिर्देशन र निर्देशन दिदै आउनु भएको छ। उहाँको कार्यकालमा कम्पनीले अझ राम्रो प्रगति गर्छ भन्ने मैले आशा लिएको छु।
कम्पनीको सञ्चालक समितिमा विवाद भएर नयाँ अध्यक्ष आउनु भएको हो ?
हाम्रो कम्पनीमा सञ्चालक समितिमा कुनै विवाद छैन। सबैले एकमतले निर्णय गर्नु हुन्छ। अध्यक्षमा पहिला कुसुम लामा हुनुहुन्थ्यो । उहाँले कम्पनीको हित र व्यवसाय वृद्विमा धेरै ठुलो योगदान दिनु भएको छ। उहाँले पछिल्लो दिनमा स्वास्थ्य र अन्य व्यस्तताले कम्पनीमा समय दिन नसक्ने कारणले म अध्यक्षमा बस्दिन भन्नु भयो।
त्यसपछि राजेन्द्र मल्लजी सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनु भएको हो। उहाँ २०५६ सालदेखि बीमा कम्पनीमा आवद्व हुनुहुन्छ। नेपाल चेम्बर अफ कमर्शमा १८ वर्ष नेतृत्व गर्नु भयो,अध्यक्ष हुनु भयो। उहाँ बीमा क्षेत्रको अनुभवी अध्यक्ष हुनुहुन्छ। एलाइन्स इन्स्योरेन्स हुँदादेखि नै मल्ल ठुलो लगानी कर्ता हो।
प्रभू इन्स्योरेन्स कम्पनीमा संस्थापक सेयर धनीको तर्फबाट राजेन्द्र मल्ल,मिजास भट्टचन,राहुल ठोकर लामा, कर्मचारी सञ्चय कोषका तर्फबाट शान्त गौतम,सर्वसाधारण सेयर धनीको तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा रहनु भएको छ।
एक जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था छ। म सन्चित बज्राचार्य प्रमुख कार्यकारी अधिकृत छु। यस कम्पनीमा संस्थापक सेयरवालाको २९.३८ प्रतिशत,संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषको २१.६१ प्रतिशत र सर्वसाधारण नेपाली नागरिकहरूको ४९ प्रतिशत सेयर रहेको छ। हाम्रो केन्द्रीय कार्यालय तिनकुने काठमाडौंमा छ।
आर्थिक मन्दीले बीमा व्यवसायमा कस्तो असर पारेको छ ?
राष्ट्रिय –अन्तर्राष्ट्रिय स्तरमा देखापरेको आर्थिक मन्दी,प्रत्यक्ष रूपमा आयात निर्यात हुने मुलुकहरू रूस( युक्रनबीचमा भैरहेको राजनीतिक द्वन्द्व र युद्व,त्यसले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्विका कारण आयातित र आन्तरिक उत्पादनका सबै वस्तुहरूमा मूल्य वृद्वि हुन गएको छ।
मुलुकको वित्तीय क्षेत्रमा भएको तरलता अभाव, कर्जा प्रवाहमा कमी, राष्ट्रको समग्र आर्थिक,मौद्रिक र वित्तीय नीतिमा भएको परिवर्तन र अन्य विश्वघटनाबाट नेपाली बीमा व्यवसायमा आर्थिक जोखिम देखिएको छ, व्यवसायमा केही चुनौतीहरू थपिएका छन।
देशको राजनीतिक अस्थिरता,बीमा क्षेत्रमा देखिएको तिव्र प्रतिस्पर्धा,सुचना प्रविधिको विकाससँगै जोडिएका सञ्चालन जोखिम सम्बन्धि चुनौतीहरू र आन्तरिक नियन्त्रण प्रणालीमा हुन सक्ने कमजोरीबाट सिर्जना हुने जोखिम जस्ता प्रतिकुल असर र चुनौतीहरू अझै विद्यमान छन।
बीमा व्यवसायमा जनअविश्वास देखिएको छ, किन होला ?
विगतमा सरकारले कोरोना महामारीमा बीमा पोलेसी जारी गराउन दबाब दियो। विश्वभरि नै महामारीमा बीमा पोलेसी जारी हुँदैन। कोरोना महामारीको पैसा सरकारले दिएको छैन। त्यही कारण बीमितले क्षतिपूर्ति रकम पाउन सकिरहेका छैनन। यसैगरि कृषि बीमामा सरकारको प्रतिबद्धता कार्यान्वयन नहुँदा पनि बीमा कम्पनी पीडित भएका छन् ।
यसले लगानीकर्ता बढी सशंकित बनाएको छ । कोरोना बीमामा सरकारले भुक्तानी नदिँदा आमसर्वसाधारणमा बीमा क्षेत्रप्रति नराम्रो प्रभाव परेको छ। यो समस्यालाई बीमा कम्पनी र प्राधिकरण मिलेर चिर्न जरुरी छ। सरकारले नीति नियम बनाउने, अंकुश लगाउने मात्र गर्ने होइन, सहजीकरण पनि गर्नुपर्दछ ।
आर्थिक स्थायित्वका लागि नियामकहरूले पनि हितकारी नियमहरू बनाउनुपर्ने आवश्यकता छ। कहिले नयाँ कम्पनीलाई लाइसेन्स दिने, कहिले मर्जमा जाउँ भन्ने सरकारको नीतिमा लगानीकर्ताले अस्थिरता अनुभव गरेका छन् । कम्पनीहरूको पुँजी वृद्धि हुँदै जानु तर त्यस अनुसार बीमा बजारको विस्तार सुस्त हुनुले पनि लगानीकर्तामा केही चिन्ता अवश्य छ ।
लगानीकर्तालाई पुँजी जुटाउन जति गाह्रो छ, भविष्यमा लगानीको प्रतिफलबारे पनि त्यत्तिकै गम्भीर भएर सोच्नुपर्ने अवस्था रहेको छ । तरपनि बीमा प्रति जनचासो र विश्वास बढेकै देखिन्छ। नत्र यत्रो बीमा शुल्क उठने थिएन।
त्यसो भए बीमा प्रति सर्वसाधारणमा चासो बढेको पाइएको हो ?
पछिल्लो समय बीमा बजार सही दिशामा अगाडि बढेको छ,तर सरकारको नीतिमा स्थिरता भने जरुरी रहेको देखिन्छ । पहिला मानिसहरूलाई बीमाबारे बुझाउन निकै हम्मेहम्मे पर्थ्यो। त्यसैले बीमा कम्पनीहरूले पनि लामो समयसम्म उचित प्रतिफल दिन सकेन।
जब २०७२ बैशाख १२ को महाभूकम्पको महामारीमा देश फस्यो, त्यसपछि मात्रै मानिसहरूले बीमाबारे बुझ्न थाले। भविष्यका लागि बीमा गर्नुपर्छ भन्ने बुझे। बीमाको फाइदाबारे बुझ्न थाले, बजार विस्तार हुँदै गयो। बीमा कम्पनीहरूले पनि प्रतिफल दिन थाले।
मुलुकको अर्थतन्त्रको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पनि बीमाले राम्रो योगदान गरेको छ। सरकारको राजस्वमा पनि धेरै ठूलो योगदान गरेको छ। यस क्षेत्रको महत्वलाई बुझेर सरकारले पनि सकारात्मक नीति ल्याउनु पर्दछ।
बीमा कम्पनीहरूले समयमै बीमा दाबी भुक्तानी नगरि बीमितलाई दुस्ख दिन्छन भन्ने गुनासो पनि सुनिन्छ नी ?
हामीले दाबी भुक्तानीलाई सहज बनाउने काम गरेका छौ। बीमितको दाबी ठिक हो कि हैन रु भन्ने बीमा कम्पनीका प्रतिनिधिले स्थलगत अध्ययन गर्छन,आफ्नो प्रतिवेदन दिन्छन। यसका लागि समय लाग्दछ। झुटो विवरण पेस गरेर बीमा दाबी लिन खोज्नेहरू पनि हुन्छन,त्यसलाई रोक्नु पर्छ ।
फेक क्लेम गर्नेको पहिचान गर्ने र त्यस्ता समूहबाट कम्पनीलाई जोगाउनु पर्छ। बजारमा फेक क्लेमको धन्धा चलाउनेहरू पनि छन। त्यस्तो गलत मनसायले कुनै कम्पनी आउँदा त्यस्ता कम्पनीलाई बीमा सेवा दिइदैन। बीमा क्लेममा समय लाग्छ। तर सबैले वास्तविक क्लेम रकम पाउँछन्। त्यस्तो रकम नपाउने भन्ने कुरै हुँदैन। क्षतिको उचित बीमा रकम दिननै बीमा कम्पनी स्थापना भएका हुन।
उधारो बीमा गरेर क्लेम गर्ने चलन पनि छ भनिन्छ नी ?
उधारो बीमाको प्रचलन पहिला थियो। तर अहिले त्यस्तो चलन हटिसक्यो। कुनै बेला बीमा पनि उधारो हुने चलन थियो। उधारो बीमा गर्ने अवस्थाको अन्त्य हुनुपर्छ भनेर हाम्रो कम्पनीले धेरै काम गरेको छ। नेपाल बीमा प्राधिकरणको नेतृत्वसँग निरन्तर कुरा गरेको छ।
प्रभु इन्स्योरेन्सले उधारोमा गरेको बीमा लागू हुने छैन भनेर संस्थाको छाप नै बनाएर हामीले काम गरेका छौ । हाम्रो माग धेरै पछि नियामक निकाय बीमा प्राधिकरणबाट सुनुवाइ भयो। अहिले उधारो बीमा बन्द भएको छ।
बीमा व्यवसाय बढाउन के गर्नु पर्ला ?
यसका लागि सरकारले विद्यालय स्तरमै बीमा व्यवसाय र बीमा गर्दाका फाइदाका बारेमा पाठयक्रम बनाई पढाउन पर्दछ। यसले बीमाका बारेमा हरकोही जानकार हुन्छन। जुन कुनै व्यवसायमा सञ्चालन गर्नु अघि अनिवार्य बीमा गर्ने कानुनी व्यवस्था पनि गर्नु पर्दछ।
व्यवसाय वा निर्माण क्षेत्रमा भविष्यमा देखापर्ने जोखिमबाट सुरक्षित हुन बीमा अनिवार्य गर्नु पर्दछ। बालबच्चाको जन्मने बित्तिकै बीमा गरिनु पर्दछ। सबै नागरिकको स्वास्थ्य बीमा गरिनु पर्दछ। यसले भविष्यको आर्थिक जोखिमबाट सबैलाई सुरक्षित बनाउछ।
प्रसङ्ग बदलौ,बीमालाई आम नागरिकले कसरी बुझ्ने ?
बीमा भनेको आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चिता हो । बीमा गर्दा बीमा गर्ने व्यक्ति अर्थात बिमित र बीमा गरिदिने व्यक्ति अर्थात बीमक बीच लिखित सम्झौता हुन्छ । त्यहि सम्झौताका आधारमा बीमा कम्पनीले नोक्सानी बराबरको क्षतिपूर्ति रकम दिन्छ । बीमा’ शब्द फारसीबाट आएको शब्द हो ।
जसको अर्थ हुन्छ– ‘जिम्मेवारी लिनु ।’ त्यसैले विश्लेषकहरूले बीमालाई ‘जोखिम हस्तान्तरण’ को रूपमा पनि लिने गरेका छन्। बीमा व्यवसायको इतिहास अध्ययन गर्दा यो पुरानो व्यवसाय मानिन्छ। जोखिम हस्तान्तरण वा वितरण गर्ने विधि चिनियाँ र भारतीय व्यापारीहरूले क्रमशः ईसा पूर्वको तेस्रो र दोस्रो सताब्दीमा अभ्यास गरेका थिए।
नदीमा यात्रा गर्ने चिनियाँ व्यापारीहरूले कुनै पनि जहाज पल्टिँदा नोक्सानीलाई सीमित गर्न धेरै जहाजहरूमा आफ्ना सामानहरू पुनस् वितरण गर्थे । बिमाको अवधारणा ईसापूर्व तेस्रो शताब्दीका धर्मशास्त्र, अर्थशास्त्र र मनुस्मृति जस्ता हिन्दू शास्त्रहरूमा पनि पाइन्छ।
बीमाको उत्पत्ति कहिले र कहाँबाट भएको हो यकिन नभएता पनि विद्वानहरूको भनाइअनुसार ४५ सय वर्ष ईशापुर्व बेबिलोनिया, ग्रिस तथा रोम तिर प्रचलन थियो । आधुनिक जीवन बीमाको सुरुवात १५ औँ शताब्दीदेखि सुरु भएको र बीमाको जन्मदाता बेलायत भएको कुरा मानिन्छ । जीवन बीमा गर्ने पहिलो व्यक्ति विलियम गिबर्न हुन भनिन्छ।
भनेपछि बीमा गर्नु भनेको भविष्यमा हुने आर्थिक तथा भौतिक क्षतिबाट बच्ने उपाय हो ?
भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । कतिखेर कसलाई के हुन्छ, कति बेला प्राकृतिक प्रकोप आएर धनजनको क्षति गर्छ रु कसैलाई थाहा हुँदैन । त्यसैले भोलिका दिनमा हुनसक्ने जोखिमको न्यूनीकरण गर्न तथा भविष्यमा हुने जोखिम अरूलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानुनी विधि वा बीमा कम्पनीसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो ।
त्यसो हो भने बीमा गरेर भविष्यमा हुने आर्थिक जोखिम वा क्षतिबाट वच्न सकिन्छ रु बीमा कम्पनीमा बीमा गर्दा भाग्ने डर हुँदैन ?
बीमा सरकारी ऐन अनुसार स्थापना भई नियामक निकाय नेपाल बीमा प्राधिकरणको रेखदेखमा सञ्चालन हुने, स्वदेशी तथा विदेशी ठूला कम्पनीसँग पुनर्बीमा हुने हुँदा बीमा कम्पनी कसैको पैसा लिएर भाग्न सक्दैनन् । यी कम्पनीहरू आधिकारिक, भरपर्दो र विश्वासीलो मानिन्छन् ।
बीमाका आधारभूत विशेषताहरू के–के हुन ?
बीमाका आधारभूत विशेषताहरूमा क्षतिको संग्रह,आकस्मिक क्षतिको भुक्तानी,जोखिम हस्तान्तरण,भविष्यको अनिश्वितता न्यूनिकरण र घाटाको परिपूर्तिलाई मुख्य रूपमा लिन सकिन्छ। बीमाका उद्देश्य तथा कार्यहररूमा निश्चितता प्रदान गर्नु,जोखिम हस्तान्तरण, जोखिम संग्रह,पूँजी निर्माणमा मद्दत र उपयुक्त बीमा शूल्क कायम गर्नु रहेका छन। त्यसैले बीमाको महत्त्व र आवश्यकता धेरै ठुलो छ।
बीमाको आवश्यकता र महत्व किन बढदै गएको हो ?
बीमा गर्दा कुनै पनि व्यक्तिले दोश्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) लाई कहिलै पनि घाटा हुँदैन । बीमा गर्ने कम्पनीले पनि पुर्नबीमा गर्ने भएका कारण उक्त कम्पनीमा क्षति हुँदा वा उक्त कम्पनी डुबेको अबस्थामा पनि बीमा गर्ने व्यक्तिलाई हानी हुँदैन । पुर्नबीमा भनेको उक्त बीमा कम्पनीको पनि बीमा गरिएको भन्ने हो । बीमा गर्दा भविष्यको सुरक्षा हुने हुँदा यसले उज्वल भविष्यका लागि सहायता गर्दछ । विभिन्न चोरी, हुलदङ्गा, आगलागी, डुबान,बाढी,पहिरो आदीको जोखिमबाट बच्नका लागि पनि बीमा गर्नु उपयुक्त मान्निछ ।
जीवन बीमाको हकमा बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएको अबस्थामा पनि परिवारमा आर्थिक समस्या पर्दैन । बीमितको परिवारले बीमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नो जीविका चलाउन सक्छ ।
आयकर ऐनअनुसार बीमा गरेमा आयमा करछूट हुने व्यवस्था छ । करमा छूट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् । बीमा गर्दा दुई वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ ।
ऋण सुविधा प्राप्त गर्नलाई बीमालेखबाहेक अन्य सम्पत्ति धरौटीमा राख्नु पर्दैन । पुर्नजीवन बीमा सम्पत्तिको सुरक्षाका लागि गरिने भएको हुँदा सम्पत्ति हराउला कि ?, चोरीएला की ?, नष्ट होला कि ?, आगलागी होला कि रु प्राकृतिक विपत्तिमा परेर क्षति होला कि ? भन्ने जस्ता चिन्ताबाट मुक्त हुने उपाय नै बीमा हो ।
बीमाका किसिम कति प्रकारका हुन्छन ?
साधारणतया बीमालाई जीवन बीमा, निर्जीवन बीमा र पुर्नबीमा गरी तीन किसिमले छुट्याइएको छ । जीवन बीमा यो एउटा लामो करार हो । जसले निश्चित भुक्तानी अवधिसम्म किस्ता तिरी बीमा अवधिको अन्त्यमा बोनस सहित भुक्तानी प्राप्त गर्दछ ।
यदि विमीतको बीमा समय अवधि बीचमै अकालमा मृत्यु हुन गएमा बीमा कम्पनीसँग भएको करारको आधारमा बीमा कम्पनीले विमीतको आश्रित परिवारलाई बोनस सहित विमाङ्क फिर्ता गर्दछ । यो नै बीमाको नियम हो । मानिसको जोखिमलाई ग्रहण गर्नुको साथ साथै यदि विमीतको अकालमा मृत्यु भयो भने उसको आश्रित परिवारको पनि जोखिम ग्रहण गर्दछ ।
निर्जिवन बीमा कस्तो बीमा हो ?
यो बीमा सम्पतिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनको लागि गरिने करार हो । यसमा विमित कम्पनी वा व्यक्तिले बीमा गरिसकेपछि दुबै हानी नोक्सानी र जोखिमबाट मुक्ति प्राप्त गर्दछ । यो बीमामा बीमा गरिएको अवधिमा कुनै हानी नोक्सानी वा दुर्घटना भएमा बीमा कम्पनीले कुनै रकम तिर्नु पर्दैन ।
मानिसले आर्जन गरेको चल–अचल सम्पत्तिको सुरक्षा गर्नका लागि गरिने बीमा हो । जस्तै घर, उद्योग कलकारखाना, गाडी, मोटरसाइकल वा यस्तै प्रकारका सम्पत्ति हानी नोक्सानी भएमा सो को क्षतिपूर्ती होस् भनेर निर्जिवन बीमा गरिन्छ ।
यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरी तथा भूकम्प लगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपूर्ति प्राप्त गर्न तथा यस्ता जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति र राहत पाउन बीमा गर्ने गरिन्छ ।
कृषि र पशुधन बीमा चाहिँ कस्तो बीमा हो ?
यस अर्न्तगत व्यबसायीक कृषि र पशुपालनमा पनि बीमा हुने गर्दछ । भौतिक सम्पति, उत्पादन– मुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमाको क्षेत्र विस्तार भईरहेको छ । यसरी बीमा गरीसकेपछि तोकिएअनुसार थोरै रकम भुक्तानी गर्दा सम्पूर्ण सम्पत्तिको सुरक्षा हुने हुँदा बीमा गर्नु अत्यन्तै आवश्यक मानिन्छ ।
निर्जिवन बीमा अन्तर्गत सरकारले लघु बीमा कार्यक्रम पनि अनिवार्य गरेको छ । जसका लागि निर्जिवन बीमा कम्पनीहरूले पुल प्रकृयामा सञ्चालन गर्ने भएको छ । लघु बीमाका लक्षित वर्ग भनेको न्यून आम्दानी हुने मानिस हुन् ।
न्युन आम्दानी भएका सबै नागरिक सम्म पुग्न बीमा कम्पनीले अत्याधिक स्रोत र साधनको प्रयोग गर्नु पर्ने हुँदा बढि खर्चिलो बन्न जान्छ । त्यसैले कम्पनीहरूले पूल प्रणालीको अवधारणा अघि सारेका हुन् । हाल पुल म्यानेजरको रूपमा प्रुडेसियल इन्स्योरेन्स रहेका छन् ।
पुनर्बीमा कम्पनी भन्नाले कस्तो कम्पनी हो ?
यो बीमाको पनि बीमा पुनर्बीमा हो । बीमा कम्पनीले आफुले उठाएको बिमीतरूको सम्पूर्ण जोखिम बहन गर्नु पर्ने भएकोले उक्त जोखिमलाई बीमा कम्पनीको माध्यमबाट अर्को कम्पनीमा बीमा गर्नु गराउनु नै पुर्नबीमा हो । हाल नेपालमा नेपाल पुर्नबीमा गर्ने दुई कम्पनी छन ।
जीवन बीमा पनि अनिवार्य र सुरक्षित छ ?
बीमा प्राधिकरणले ‘जीवन बीमा’ भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । मुलतः ‘जीवन बीमा’ भनेको हामीलाई कुनै पनि बेला जे पनि हुन सक्छ र त्यस्तो अबस्थामा पैसाको अभावले समस्या नआओस् भन्ने नै हो । जीवन बीमालाई तीन वर्गमा विभाजन गरिएको छ ।
आजीवन जीवन बीमा भनेको कस्तो बीमा हो ?
बीमा निश्चित अवधिका लागि गरिन्छ । आजीवन जीवन बीमा गर्दा निर्धारित अवधिसम्म बिमा गर्ने व्यक्ति अर्थात बिमितले बीमाशुल्क भुक्तानी गर्दै जान्छ । बिमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुष्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बीमा अवधि सकिएपछि बिमा गर्ने व्यक्ति बिमितले बीमा शुल्क तिर्नुपर्दैन ।
मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन । यद्यपि बीमा अवधि अगावै बिमा गर्ने व्यक्ति बिमितको मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम पाउँछ । यस्तो खालको योजना खरिद गर्दा बीमा शुल्क सस्तो पर्छ ।
सावधिक जीवन बीमा भनेको चाहिँ कस्तो बीमा हो ?
निश्चित अवधिसम्ममा तोकेर गरिने बीमा सावधिक जीवन बीमा हो । यस अन्तरगत जीवन बीमा गर्ने व्यक्ति बिमित आफैले एकमुस्ट रकम प्राप्त गर्न सक्दछ । यद्यपी तोकिएको समय अवधि भित्र उसको मृत्यू भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बीमा योजना हो ।
यो योजनाअनुसार तोकिएको अवधिसम्ममा बिमितले बीमाशुल्क बुझाउनुपर्छ । बीमा अवधि समाप्त भएपछि बिमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्छ । यदी बीमा अवधि समाप्त नहुँदै बिमितको मृत्यु भएमा बिमांक रकम र सो अवधिसम्म भुक्तान भएको बीमाशुल्कको बोनस रकम इच्छाएको वा हकवाला व्यक्तिले प्राप्त गर्छ । दोहोरो दुर्घटना लाभसमेत समेटिएको योजनामा दुर्घटना रकम पनि प्राप्त हुन्छ ।
म्यादी जीवन बीमा भनेको कस्तो बीमा हो ?
सीमित अवधिका लागि मात्रै यस्तो खालको बीमा गरिन्छ । बीमा अवधिसम्म बिमितले बीमाशुल्क भुक्तानी गर्दछ । बीमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गर्छ । तर बीमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन ।