फ्रान्समा कोरोना संक्रमण बढेपछि सार्वजनिक गतिविधिमा फेरि कडाई
पेरिस । कोरोना भाइरस संक्रमण फेरि बढ्न थालेपछि फ्रान्स सरकारले देशका प्रमुख २ सहरमा सार्वजनिक कृयाकलापमा कडाई गर्ने घोषणा गरेको छ । राष्ट्रव्यापी लक डाउन गर्नुपर्ने अवस्था उत्पन्न हुन नदिन पनि फ्रान्स सरकारले सतर्कता बढाएको हो ।
सोमबार घोषणा गरिएका नयाँ प्रतिबन्धहरु मार्से र बोर्डो सहरमा लागू हुँदैछन् । यी २ सहरमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या एकाएक बढेको छ ।
क्षेत्रीय स्वास्थ्य सेवामा पनि संक्रमितका कारण दबाब बढेको छ । बोर्डो सहरमा एक जना वरिष्ठ सरकारी अधिकारीले १० जनाभन्दा बढी व्यक्ति सार्वजनिक पार्कमा भेला हुन निषेध गरेका छन् भने नदी तथा बीचमा पनि आवत–जावत गर्न रोक लगाइएको छ । मनोरञ्जनात्मक कृयाकलापहरु र छिमेकीहरुबीच भेला समारोह गर्न बन्देज गरिएको छ ।
केन्द्र सरकारले ५ हजार जना सम्म मानिस भेला हुन पाउने छुट दिए पनि बोर्डो सहरमा यस्तो भेला १ हजार जनामा सीमित गरिएको छ । यो सीमा रंगशाला र कन्सर्ट तथा प्रदर्शनका सन्दर्भमा लागू हुनेछ ।
फ्रान्सकै दोस्रो ठूलो सहर मार्सेमा पनि बोर्डोझैं प्रतिबन्धहरु अघि सारिएका छन् । फ्रान्सको स्वास्थ्य विभागले शनिबार मात्र २४ घण्टाको अवधिमा देशभर १० हजार नयाँ कोरोना संक्रमित फेला परेको बताएको छ । रासस/एपी
























