बेलायती कम्पनीको खोप अमेरिकामा तेस्रो चरणको परीक्षणमा, ३० हजार व्यक्तिमा लगाइने
एजेन्सी । बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोनाविरुद्ध निर्माण गरिरहेको खोपको क्लिनिकल तेस्रो चरणमा प्रवेश गरेको छ। उक्त खोपको परीक्षण संयुक्त राज्य अमेरिकामा भइरहेको छ । हाल अमेरिकामा परीक्षणमा रहेकामध्ये अन्तिम चरणको परीक्षण गर्नेमा उक्त कम्पनी तेस्रो स्थानमा छ ।
अक्सफोर्ड विश्वविद्यालयको साझेदारीमा विकास गरिएको यो खोपलाई अमेरिकी संघीय सरकारले समर्थन जनाउनुका साथै ३० हजार नागरिकमा परीक्षण अनुमति दिइसकेको छ । यसअघि अमेरिकामै मोडर्ना र फाइजर र बायोएनटेक खोप तेस्रो चरणको परीक्षणमा गइसकेको सिएनएनले जनाएको छ ।
समाचार संस्था सिएनएनका अनुसार एस्ट्राजेनिकाले अमेरिकामा १८ वर्ष वा सोभन्दा माथिका विभिन्न जातीय र भौगोलिक समूहहरूबाट करिब ३० हजार व्यक्तिमा तेस्रो चरणको खोप परीक्षण गर्न लागेको छ । यो खोप स्वस्थ व्यक्ति वा एचआईभी भएका वा कोरोना संक्रमणको जोखिमको खतरा भएका व्यक्तिलाई ४ हप्ताको अन्तरालमा दुइ डोज दिइने जनाइएको छ ।
हाल एस्ट्राजेनेकाको तेस्रो चरणको परीक्षण बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा पनि भइरहेको छ । साथै जापान र रुसमा पनि यसको परीक्षण थाल्ने बताइएको छ ।






















