ट्रम्पले फेरि दाबी गरे नोबेल शान्ति पुरस्कार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य रहेको दाबी फेरि दोहोर्याएका छन् । उनले आफूले आठ वटा युद्ध अन्त्य गराएको दाबी गर्दै आफूले आफ्नो प्रशंसा नगरेको, तथ्य मात्रै प्रस्तुत गरेको बताएका छन् ।
ह्वाइट हाउस फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘सायद कुनै पनि राष्ट्रपतिले यति धेरै युद्ध समाधान गरेका छैनन् ।’ उनले शान्तिका लागि आफ्नो प्रयास जारी रहेको र छिट्टै अर्को एउटा युद्ध पनि समाधान गर्न सक्ने बताएका छन् ।
ट्रम्पले लामो समयदेखि आफूले गरेको कूटनीतिक प्रयासका कारण नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गर्दै आएका छन् । यस वर्षको नोबेल शान्ति पुरस्कारको घोषणा अक्टोबर ९ मा नर्वेजियन नोबेल समितिले गर्नेछ ।
यसअघि सन् २०२५ को जुनमा पनि ट्रम्पले आफूले नोबेल शान्ति पुरस्कार चार वा पाँच पटक पाइसक्नुपर्ने दाबी गरेका थिए ।
ट्रम्पको नोबेल शान्ति पुरस्कारसम्बन्धी दाबी उनको दोस्रो कार्यकाल सुरु हुनुअघिदेखिकै हो । पहिलो कार्यकालमा उनले उत्तर कोरियासँगको कूटनीतिक प्रयासलाई पटक–पटक आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेका थिए ।
सन् २०१८ मा नर्वेका दुई सांसदले उत्तर कोरियाली नेता किम जोङ उनसँग ट्रम्पको भेटपछि उनलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्ने बताएका थिए ।
त्यसको एक वर्षपछि ट्रम्पले जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियासँगको तनाव कम गर्न आफूले गरेको प्रयासका लागि उनलाई पुरस्कारका लागि मनोनयन गरेको बताएका थिए । यद्यपि आबेले सार्वजनिक रूपमा उक्त मनोनयनको पुष्टि गरेका थिएनन् ।





















