अमेरिकाका प्रमुख बैंकहरूको अनलाइन सेवामा समस्या
अमेरिकाका बैंक अफ अमेरिका, जेपी मोर्गन चेज र वेल्स फार्गो लगायतका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले बैंकिङ सेवाहरू प्रयोग गर्न समस्या भएको गुनासो गरेका छन्।
अनलाइन सेवामा देखिएको अवरोधबारे प्रयोगकर्ताका गुनासा संकलन गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार करिब ४ हजार ५०० जनाले जेपी मोर्गन चेजको अनलाइन बैंकिङ सेवामा समस्या आएको रिपोर्ट गरेका छन्।
बीबीसीका अनुसार चेज बैंकमा प्राविधिक खराबी देखिएको हो। प्रारम्भिक जानकारीअनुसार उक्त समस्या साइबर आक्रमण वा सुरक्षा उल्लंघनसँग सम्बन्धित देखिएको छैन।
चेज बैंकले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा आफ्नै हार्डवेयर प्रणालीमा रहेको सफ्टवेयरको गडबडीका कारण बैंकिङ सेवा अस्थायी रूपमा प्रभावित भएको जनाएको छ।
बैंकका अनुसार केही ग्राहकका कारोबार तथा अनुरोधहरू सामान्यभन्दा बढी समय लागेर पूरा भइरहेका छन्। साथै, अन्य बैंकसँग सम्बन्धित कारोबारमा पनि यसको प्रभाव पर्न सक्ने बैंकले स्पष्ट पारेको छ। यद्यपि, यो समस्या समग्र बैंकिङ सञ्जालमा फैलिएको भने होइन।
यसैबीच, क्यापिटल वन र पीएनसी लगायतका अन्य बैंकहरूले भने आफ्ना बैंकिङ प्रणालीमा कुनै समस्या नदेखिएको बताएका छन्।
चेज बैंकले ग्राहकहरूले अझै पनि आफ्नो खाता र रकममा पहुँच कायम राख्न सक्ने जनाएको छ। साथै, प्राविधिक समस्या समाधानका लागि काम भइरहेको पनि बैंकले जानकारी दिएको छ।























