stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने डोनाल्ड ट्रम्पको घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्।

आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई अमेरिकामा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका हुन्।

‘इरानसँग व्यापार गर्ने देशहरूले अमेरिकासँग व्यापार गर्दा २५ प्रतिशत भन्सार बुझाउनुपर्नेछ। यो तत्काल लागू हुनेछ,’ उनले ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्।

यसबारे ह्वाइट हाउसले औपचारिक विज्ञप्ती भने सार्वजनिक नगरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। इरानमाथि अमेरिकाले वर्षौंदेखि कडा प्रतिबन्ध लगाउँदै आएको छ।

विश्व बैंकका पछिल्ला तथ्यांक अनुसार इरानी निर्यातका प्रमुख गन्तव्य चीन, संयुक्त अरब इमिरेट्स र भारत रहेका छन्। भन्सार शुल्क भने अमेरिकी आयातकर्ताले तिर्नुपर्ने व्यवस्था हुन्छ। ट्रम्पले इरानमा जारी प्रदर्शनमा सरकारले दमन गरेको आरोप लगाउँदै आएका छन्।

इरानमा दुई साताको अवधिमा ५०० जनाको मारिएको र दस हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्। ट्रम्पले लगातार इरानलाई प्रदर्शनकारीमाथि गोली नचलाउन चेतावनी दिँदै आएका छन्।

ट्रम्पले इरानलाई त्यसो नगर्न बाध्य पार्नका लागि अमेरिकी कदमहरूमध्ये चारवटा विकल्पमा छलफल गरेका थिए। अमेरिकाले भर्खरै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई उनीहरूकै देशबाट उठायो। कराकसमा सैन्य हमला गरेर अमेरिकाले मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरी न्युयोर्क पुर्‍याएको थियो।

ट्रम्पले इरानमा पनि त्यसरी नै सैन्य कारबाही गर्ने सक्ने बारे छलफल भएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकाले त्यसो गरे मध्यपूर्वको क्षेत्रीय सन्तुलन अझै खलबलिने छ। इरानले इसराइल र मध्यपूर्वका अन्य देशमा रहेको अमेरिकी सैन्य संरचनामा हमला गर्न सक्नेछ। केही अधिकारीहरूले त्यस्तो चेतावनी पनि दिइसकेका छन्।

दोस्रो विकल्प इरानमा गोप्य साइबर हमला, तेस्रो विकल्पमा उसलाई अझै कडा प्रतिबन्ध लगाउने र चौथो विकल्पमा सरकारविरोधी समूहलाई अनलाइन सहयोग गर्ने सम्मका छलफल भएको भनिएको छ।

ट्रम्पले तीमध्ये तेस्रो विकल्प अहिले कार्यान्वयनमा ल्याएका हुन्। ‘यद्यपि हामीसँग धेरै र निकै कडा विकल्पहरू छन्,’ ट्रम्पले एयरफोर्स वानमा पत्रकारहरूसँग भनेका छन्।

अमेरिकी सम्भावित हमलालाई लिएर इरान पनि सतर्क रहेको त्यहाँका स्रोतको हवाला दिँदै रोयटर्सले लेखेको छ। इरानभित्रै अमेरिका र इसराइलको विरोधमा सोमबार शान्तिपूर्ण र्‍याली आह्वान भएको छ। इरानमा डिसेम्बर २८ देखि प्रदर्शन सुरू भएको थियो।

प्रदर्शन हिंसात्मक र तीव्र बन्दै गएपछि देशभर इन्टरनेट सेवा अवरूद्ध छ। यसले सूचनाको प्रवाह कठिन बनेको छ। ट्रम्पले इलन मस्कसँग स्टारलिङ्कमार्फत इरानमा इन्टरनेट पुनःस्थापना गर्नेबारे छलफल गर्ने बताएको रोयटर्सले लेखेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिंसाप्रति दुःख व्यक्त गर्दै अभिव्यक्ति र शान्तिपूर्ण भेलाको अधिकारलाई सम्मान गर्न आग्रह गरेका छन्।

prabhu mahalaxmi
kumari