यस वर्ष युनाइटेड इन्स्योरेन्सको नाफा घट्यो

आर्थिक सञ्जाल २०७७ वैशाख २५ गते बिहीबार
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ८१ लाख ६० हजार पुगेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा कम्पनीको चुक्तापूँजी २४० प्रतिशत बढी भएको हो ।
कम्पनीले २४० प्रतिशत हकप्रद शेयर विक्री गरी चुक्तपूँजी बढाएको हो । यस वर्ष गत वर्षको तुलनामा कम्पनीको नाफामा भने कमि आएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म रू. ७ करोड ५५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष सोहि अवधिसम्म रू. ४ करोड २६ लाख मात्र खुद नाफा गरेको छ हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ४३ दशमलव ५८ प्रतिशत कम भएको हो ।
यो वर्ष कम्पनीको आम्दानी ३९ दशमलव ३६ प्रतिशत कम भएको छ । आम्दानी घटेसँगै नाफामा पनि कमि आएको हो । गत वर्ष रू. १२ करोड ७९ लाखभन्दा बढी आम्दानी गरेको यो कम्पनीले यस वर्ष रू. ७ करोड ७६ लाख १२ हजार मात्र आम्दानी गर्न सकेको हो । कुल बीमाशुल्क आर्जन रकम भने गत वर्षृभन्दा यस वर्ष ४४ प्रतिशत बढी भएको छ ।
गत वर्ष रू. ३५ करोड ५५ लाख ९७ हजार कुल बीमाशुल्क आर्जन गरेको यो कम्पनीले यस वर्ष सोहि अवधिसम्म रू. ५१ करोड २१ लाख ७४ हजार कुल बीमाशुल्क आर्जन गरेको हो । कम्पनीको बीमाकोषमा रू. ३४ करोड ७४ लाख ३९ हजार रहेको छ ।
गत वर्ष रू. १ हजार ३१३ जनालाई रू. २३ करोड ६७ लाखभन्दा बढी दाबी भुक्तानी गरेको यो कम्पनीले यस वर्ष १ हजार ५९८ जनालाई रू. १६ करोड ५३ लाखभन्दा बढी रकम दाबी भुक्तानी गरेको छ । यस वर्ष कम्पनीले ६९ हजार २८५ बीमालेख जारी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव ५३ र प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ६० छ ।