नेपाल इन्स्योरेन्सको लाभांश पारित गर्न जेठ ३० गते वार्षिक साधारण सभा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सोमबार जेठ ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, अधिकृत पुँजी २ अर्ब रुपैयाँबाबट बढाएर २ अर्ब ६० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ । यता, सभामार्फत सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २–२ जना सञ्चालकहरुको निर्वाचन हुनेछ ।
प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ३७ करोड ८९ लाख ८५ हजार रुपैयाँ पुग्ने भएकाले सोही बजोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ ।
सञ्चालक समिति र उप समितिको बैठक भत्ता र सुविधा पुनरावलोकन गर्ने प्रस्ताव पनि रहेको छ । सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि नेपाल इन्स्योरेन्सले जेठ १७ गतेदेखि बुक क्लोज गरेको छ । जेठ १६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस इन्स्योरेन्सले १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ७१ पैसा छ ।
























