बिमाको प्रिमियम पुँजी बजारमा लगानी गर्न सकिन्छ : अर्थमन्त्री खतिवडा

आर्थिक सञ्जाल बुधबार, २८ फागुन
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बिमाबाट संकलित प्रिमियम पुँजी बजारमा लगानी गर्न सकिने बताएका छन् । संसदको अर्थ समितिमा बिमा बिधेयकमाथि भएको छलफलमा बोल्दै मन्त्री खतिवडाले बिमा कम्पनीहरुको प्रिमियमलाई पुँजी बजारमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् । यसले पुँजी बजारको विकास र स्थायित्वमा निकै सहयोग पुग्ने पनि अर्थमन्त्रीले बताए ।
अर्थ समितिमा बिमा ऐनलाई संशोधन गर्न बनेको ऐनका सम्बन्धमा छलफल गर्न आयोजित कार्यक्रममा उनले भने, ‘नयाँ बिमा कम्पनीहरु पनि थपिएका छन् । बिमा कम्पनीहरुबीच प्रतिस्पर्धा बढेको छ । फलस्वरुपः बिमाको बजार पनि थप फराकिलो हुँदै गइरहेको छ । यस्तो अवस्थामा सिंगो बिमा क्षेत्रको नियमनका लागि शक्तिशाली बिमा प्राधिकरणको अवधारणा पनि बिमा ऐनमा अगाडि बढाइएको छ ।’
अर्थमन्त्री खतिवडाले बिमा सम्बन्धि सबै काम एकद्वार प्रणालीमा ल्याउने प्रक्रिया अघि बढेको पनि जानकारी गराए । संघ, प्रदेश र स्थानीय तहमा बिमा बजारको विकास र विस्तार गर्नुपर्ने भन्दै उनले हालसम्म एक चौथाई जनसंख्या मात्र बिमामा समेटिएको उल्लेख गरे । यस आधारमा बिमा बजार विस्तार हुने अझै पर्याप्त स्थान रहेको देखिन्छ ।