नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२.०२% बढ्यो, जीवन बिमा कोषमा ९४ अर्ब
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफामा १२.०२% सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा १२.०२% ले बढेर २२ करोड ९० लाख २ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसै अवधिमा नेपाल लाइफको खुद नाफा २० करोड ४४ लाख ३२ हजार रुपैयाँ थियो । पहिलो त्रैमासको नाफामा बिमांकीय मूल्याकंनपछिको नाफा समावेश नगरिएको कम्पनीको भनाई छ ।
असोज मसान्तसम्म आइपुग्दा खुद बिमा शुल्क आर्जन बढेर ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस इन्सुरेन्सले ७ अर्ब ८१ करोड ८३ लाख ९३ हजार रुपैयाँमात्रै खुद बिमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा नेपाल लाइफको जीवन बिमा कोषको आकार ३१.०९% ले बढेर ९४ अर्ब ८२ करोड १३ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसको जीवन बिमा कोषमा ७२ अर्ब ३३ करोड ३० लाख ९५ हजार रुपैयाँ थियो ।
नेपाल लाइफको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ छ । जगेडा कोषमा ३ अर्ब ६६ करोड ७२ लाख १२ हजार रुपैयाँ जम्मा भएको छ ।
प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ७९ पैसा छ । तर विमांकीय मूल्यांकनपछि प्राप्त हुने नाफा जोड्दा भने प्रतिसेयर आम्दानी र नेटवर्थ अनुपातमा फरक पर्नसक्ने कम्पनीको भनाई छ ।
असोज मसान्तसम्म यस इन्सुरेन्सले ३ अर्ब ६९ करोड १९ लाख ६१ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । १ अर्ब ४३ करोड २० लाख ५८ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।























