सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा पुस २५ गते
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस २५ गते शुक्रबार आठौं र नवौं वार्षिक साधारणसभा डाकेको छ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ।
साथै गत दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरी गत आवको लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्नेछ।
त्यसैगरी कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।
यसर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस १३ गतेसम्म कायम शेयरधनीहरू मात्रै सहभागी हुन र लाभांश पाउन सक्नेछन्। साधारण सभा काठमाडौंको कालिकास्थानस्थित अभृतभोग केटरर्स प्रा.लि. मा बिहान साढे १० बजे डाकेको छ।





























