गुराँस लाइफ इन्स्योरेन्सको ५ लाख ९० हजार कित्ता सेयर लिलामीमा आउने
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद सेयर बाँडफाँट भएको छ । यस कम्पनीले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ८७ लाख ९५ हजार १८६ कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा ५ लाख ९० हजार १४ कित्ता हकप्रद बिक्री हुन सकेन । यसमा १२ हजार ९०३ जनाले आवेदन दिएका थिए ।
बिक्री नभएको बाँकी सेयर गुराँसले अब लिलामीमा ल्याउनेछ । कम्पनीले असार १४ देखि साउन ४ गतेसम्म ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
हाल यसको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको सेयर बिक्रीपछि पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन गुराँसले हकप्रद ल्याएको हो ।






























