गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद भर्ने आज आइतबार साउन ४ गते अन्तिम दिन हो । कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नु पर्नेछ ।
यस कम्पनीले असार १४ गतेबाट १००% हकप्रद सेयर बिक्री खुला गरेको हो । गुराँसले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । फागुन २१ गतेसम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन पाउनेछन् ।
बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको अधिकांश शाखाबाट आवेदन दिन सकिनेछ ।
त्यसैगरी, सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखा तथा गुडविल फाइनान्सको हात्तिसार डिल्लीबजार, इन्द्रचोक, काठमाडौं र कुमारीपाटी ललितपुरबाट आवेदन दिन सकिन्छ ।
आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन मिल्नेछ । एनएमबि क्यापिटलबाट भने चेकमात्र बुझिने ब्यवस्था रहेको छ ।
हाल यसको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन गुराँसले हकप्रद ल्याएको हो ।
यसअघि चैत २० गतेबाट निष्कासन गर्ने भनिएको यो हकप्रद सेयर कोरोनाका कारण स्थगन भएको थियो ।























