नेशनल लाइफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारणसभा आज भदौ ७ गते बस्दै
लाभांश प्रस्ताव पारित गरिँदै
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधारणसभा आज भदौ ७ गते बस्दैछ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि साधारणसभा बस्ने निर्णय गरेको हो ।
साधारणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर प्रदान गर्ने, नगद र बोनस शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै आर्थिक वर्ष २०७९/८० को वार्षिक एवं लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले साउन २४ गते १ दिन बुक क्लोज गरिसकेको छ । यसका आधारमा साउन २३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनी मात्रै सभामा भाग लिन र पारित लाभांश पाउन योग्य हुनेछन् ।