असार २८ गते रिलायन्स लाइफ इन्स्योरेन्सको एजीएम
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने प्रस्ताव सहित असार २८ गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ ।
सभा, काठमान्डौं म्यारियट होटल नक्सालमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले ६३ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।
त्यसो त कम्पनीले आइपीओ प्रक्रिया अघि बढाइसकेको छ । यसका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक समेत तोकिएको छ । यसैगरी, कम्पनीको प्रबन्धपत्रमा सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप गर्ने प्रस्ताव छ ।
गत वर्षको वार्षिक प्रदिवेदन पारित, प्रबन्धपत्र तथा नियमावली संशोधन लगायतका एजेन्डाहरु पनि सभामा पेश हुनेछन् । आगामी साधारण सभामा कोरोनालाई मध्यनजर गर्दै कम्तीमा १ मिटरको सामाजिक दूरी हुने गरी हाजिरी तथा सभा स्थलमा बस्ने व्यवस्था गरिएको कम्पनीको भनाई छ ।
न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा सहभागी हुन पनि सेयरधनीलाई कम्पनीले आग्रह गरेको छ । अनलाइन मार्फत पनि सभामा सहभागी हुन सकिनेछ ।
























