साधारण सभा असार १९ गते प्रिमियर इन्सुरेन्सको

आर्थिक सञ्जाल
काठमाडौं । प्रिमियर इन्सुरेन्सले २६ औं वार्षिक साधारण सभा असार १९ गते डाकेको छ । सभा प्रिमियर भवन नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ । यस्तै, आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।
कम्पनीले कोरोनालाई मध्यनजर गर्दै कम्तीमा १ मिटरको सामाजिक दूरी हुने गरी हाजिरी तथा सभा स्थलमा बस्ने व्यवस्था गरिएको हुनाले सोही अनुसार प्रयोग गर्न आग्रह गरेको छ । साथै, न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा सहभागी हुन पनि सेयरधनीलाई कम्पनीले आग्रह गरिएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश भने वितरण नगर्ने भएको छ । यसर्थ, यसपटक सेयरधनीको हात खाली रहनेछ । सभा प्रयोजनका लागि प्रिमियरले असार ४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ । असार ३ गतेसम्म कायम लगानीकर्ताहरु मात्र सभामा भाग लिन सक्नेछन् ।