टेलिकमको जीएसएम लाइसेन्स पाँच वर्षका लागि नवीकरण
कति तोकियो शुल्क ?
काठमाडौं । नेपाल टेलिकमको साधारण मोबाइल लाइसेन्स (जीएसएम) नवीकरण भएको छ । शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमको लाइसेन्स थप ५ वर्षका लागि नवीकरण गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले टेलिकमलाई ५ वर्षको लागि २१ अर्ब रुपैयाँ दस्तुरसहित लाइसेन्स नवीकरण गरेको जानकारी दिए ।
टेलिकमले अघिल्लो ५ वर्षका लागि २० अर्ब रुपैयाँ दस्तुर तिरेको थियो । बिहीबार दस्तुर बुझाएसँगै मन्त्रिपरिषद्को बैठकले टेलिकमको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो ।
सो बमोजिम आज प्राधिकरणले लाइसेन्स नवीकरण गरेको हो । टेलिकमको लाइसेन्स शुक्रबार मध्य रातदेखि सकिँदै थियो ।