लामो समयदेखि अन्योलमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिका कार्यान्वयन गर्न महासंघले पहल गर्ने
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले लामो समयदेखि अन्योलमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने भएको छ ।
महासंघको हालै वीरगञ्जमा सम्पन्न २५औं राष्ट्रिय महाधिवेशन तथा २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट चयन भएको नयाँ कार्यसमितिले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष उमेशप्रसाद सिंहले सो कुरा बताएका हुन् ।
नेपालका लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने विषय कागजमै सीमित रहेकाले निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल सुरु गरिने उनले जानकारी दिए ।
स्वदेशी उत्पादनको संरक्षण र प्रवर्द्धन तथा यस्ता उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले निर्देशिका ल्याए पनि हालसम्म कार्यान्वयनमा जान नसकेको अवस्थामा अक्षरशः पालना गराउन सरोकारवाला निकायसँग छलफल सुरु गरिने उनको भनाइ छ ।
स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनको उपयोग गरी परम्परागत कृषि, रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउने उद्देश्यले सरकारले ल्याएको उक्त रणनीति कार्यान्वयन गराउन सके अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको योगदान ह्वात्तै बढ्ने अध्यक्ष सिंहको दाबी छ ।
मुलुकभर सञ्चालित लघु, घरेलु तथा साना उद्योगको स्तरोन्नति, पुनरुत्थान र विस्तारका कार्यक्रम सञ्चालनमा पहल गर्ने र उद्यमीको क्षमता अभिवृद्धि गरी गुणस्तरीय वस्तु उत्पादन एवं उत्पादकत्व बढाउने कार्यक्रम सञ्चालनमा समन्वय गर्ने योजना रहेको अध्यक्ष सिंहले पत्रकार सम्मेलनमा सुनाए ।
स्थानीय निकायमार्फत महासंघका पालिका, जिल्ला तथा प्रदेश संघमा कार्यक्रम ल्याइने र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भएको स्थानीय राजस्व परामर्श समितिमा महासंघको हरेक स्थानीय तहको प्रतिनिधित्वको सुनिश्चितता गर्ने उनले बताए ।
लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा सहयोग र सहकार्य गर्न चाहने सम्भावित दातृ निकायको पहिचान गर्ने योजना रहेको उनले जानकारी दिए ।
कोरोनाका कारण स्थगित अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना गरी स्वदेशी उत्पादनको बजार प्रवर्द्धन र विकास गर्न सहयोग गर्ने महासंघको आगामी योजना रहेको अध्यक्ष सिंहले बताए ।
७ वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सहजीकरण गर्ने महासंघको योजना छ । उद्योग विभागको पछिल्लो आँकडाअनुसार आर्थिक वर्ष ०७७/७८ सम्म मुलुकभर कुल छ लाख २ हजार ९२१ लघु, घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।
यसमध्ये ४ लाख ५७ हजार ६४३ उद्योग दर्ता कायम भई सञ्चालनमा छन् । ती उद्योगमा प्रस्तावित कुल पुँजी लगानी ८० हजार १८९ दशमलव ३ करोड रुपैयाँ रहेको छ भने प्रस्तावित रोजगारी ३२ लाख ८९ हजार ५१६ जना रहेको छ ।
पत्रकार सम्मेलनमा महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरी, पूर्व अध्यक्ष सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्ष हरिहर थापा, महिला उद्यमी समिति अध्यक्ष रोशनी उपाध्यायलगायतले महासंघका भावी योजनाबारे चर्चा गरे ।























