सरकारले गरेको पछिल्लो निर्णयले निजी क्षेत्र उत्साहित भएको छ: महासंघ

काठमाडौं । नेपाल सरकारले मुलुकको अर्थतन्त्र सुधारका लागि छोटो समयमा मिहिनेतका साथ सुशासन र आर्थिक सुधार लक्षित केही कानुनमा अध्यादेश मार्फत संसोधन एवं परिमार्जन गरि लगानी मैत्री वातावरण बनाउन गरेको पहलको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।
यसै विषयमा बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री के।पी।शर्मा ओली तथा नेपाल सरकारका मन्त्रीहरु एवं उद्योगी व्यवसायीहरुको उपस्थितिमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारको यस कदमको सराहना गरे ।
अध्यक्ष ढकालले निजी क्षेत्रले लामो समय देखि उठाउँदै आएका आर्थिक मुद्घाहरुलाई सम्बोधन गर्नु मुलुकको गिर्दो अर्थतन्त्र सुधारका लागि थालिएको संवेदनशील प्रयासका रुपमा लिएको बताए ।“
हामीहरुले कोभिडपछि अर्थतन्त्रमा देखिएको संकुचनको अवस्थालाई हेरेर अर्थतन्त्र चलायमान बनाउन धेरै पुराना कानुन बाधक रहेको र ती कानुनहरुलाई समयानुकुल बनाउन आग्रह गरेका थियौं ।
निजी क्षेत्रको त्यो आग्रहलाई सुनेर सरकारले गरेको पछिल्लो निर्णयले निजी क्षेत्र उत्साहित भएको छ । निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्लाई धन्यवाद दिन चाहन्छु । ” उनले भने ।
अध्यक्ष ढकालले सरकारले ल्याएका अध्यादेशको सहज कार्यान्वयनका लागि आवश्यक हुने नियमावली तथा कार्यविधिहरु पनि छिटो र सहज रुपमा ल्याउन आग्रह गरे ।
उनले विदेशमा लगानी गर्न प्रतिवन्ध लगाइएको विदेशी विनियम नियमित गर्ने ऐनमा परिमार्जन, कालाबजारी सम्बन्धि करिब ५० बर्ष पुरानो ऐनमा सुधार, राजश्व चुहावट र राजश्व न्यायाधिकरण सम्बन्धि ऐनमा धरौटिको व्यवस्था राखी मिलापत्र लगायतका बिषय तथा मध्यस्थताका विषयले अर्थतन्त्रमा सुधार हुने बताए ।
यस्तै कम्पनी बन्द गर्दा विगतमा भोग्नु परेका समस्या समाधानका लागि गरिएको व्यवस्था तथा विशेष आर्थिक क्षेत्रमा सेवा उद्योगले स्थान पाउने र थप सुविधा दिने बिषय सकारात्मक रहेको र यसले औद्योगिक वाथतावरण सहज बनाउने उनको भनाई थियो ।
उनले सरकारी सेवा प्रवाह छिटो छरितो गर्नका लागि गरिएका प्रयास सराहनीय भएको भन्दै यसबाट सकारात्मक नतिजा देखिनेमा निजी क्षेत्र विश्वस्त रहेको धारणा राखे ।
यद्यपी व्यवसाय दर्ता गर्न अझै पनि विभिन्न निकाय धाउनु पर्ने अवस्था रहेकोले यसको सुधारको लागि एउटा एकीकृत अनलाइन सफटवेयर मार्फत एकद्धार प्रणालीबाट काम गर्ने व्यवस्था मिलाउन, युवाहरुले व्यवसाय दर्ता गरिसकेपछि परियोजना धितोमा निश्चित रकम कर्जा पाउने व्यवस्थाका लागि पहल गर्न, राष्ट्रिय परिचयपत्रको प्राप्तिमा सहजीकरण गर्नुपर्ने धारणा राखे ।
उनले रेमिटेन्स नेपाली अर्थतन्त्रको लाइफलाइन रहेको बताउँदै आन्तरिक रेमिटेन्स सेवा बन्द हुँदा विकास निर्मार्णका काममा प्रभाव परेको र दुर्गममा रहेर काम गर्ने नेपाली सेना, प्रहरी, विद्यार्थी, बिरामी भएका मानिसहरुले समस्या भोग्नु परेको बताए।
ग्रामिण अर्थतन्त्र चलायमान बनाउन आन्तरिक रेमिटेन्स सुचारु हुनुपर्ने उनको धारणा थियो । यस्तै अध्यक्ष ढकालले देशको अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रको मर्यादाक्रम नै नरहेको भन्दै निजी क्षेत्रको मर्यादाक्रममा विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराए ।
सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रको मर्यादाक्रमको विषयलाई सरकारले संवेदनशील रुपमा लिएको बताए ।
साथै उनले निजी क्षेत्रलाई निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन सरकारले इमान्दारी पूर्वक प्रयत्न गरिरहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले सरकारद्वारा ल्याईएको अध्यादेशको स्वागत गरेका थिए ।