अम्बे र जयअम्बे स्टिल्सलाई ‘आईएसओ २२३०१: २०१९’ प्रमाणपत्र
काठमाडौं । स्टिल उत्पादक कम्पनीहरू अम्बे स्टिल्स र जयअम्बे स्टिल्सले ‘आईएसओ २२३०१ः२०१९’ प्राप्त गरेका छन् ।
यस्तो प्रमाणपत्र प्राप्त गर्ने यी दुई नेपालका पहिलो कम्पनी बनेका छन् । यो उपलब्धिले व्यापार निरन्तरता व्यवस्थापन र सञ्चालन उत्कृष्टताको प्रतिबद्धता झल्काउने उनीहरूको भनाइ छ ।
कम्पनीका अनुसार आईएसओ २२३०१ व्यापार निरन्तरता व्यवस्थापन प्रणाली (बीसीएमएस) को अन्तर्राष्ट्रिय मानक हो, जसले संस्थाहरूलाई कुनै पनि अवरोधका बेला प्रभावकारी प्रतिक्रिया दिन र सञ्चालन निरन्तरता दिन सक्षम बनाउँछ ।
यो प्रमाणपत्र प्राप्त गरी अम्बे स्टिल्स र जयअम्बे स्टिल्सले आफ्ना ग्राहक र सरोकारवालालाई स्थायित्व, विश्वसनीयता र उच्च मापदण्ड सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएका छन् ।
‘यो प्रमाणपत्रले हाम्रो व्यावसायिक स्थायित्व र ग्राहकप्रतिको निरन्तर सेवाको सुनिश्चितता प्रतिको प्रतिबद्धता झल्काउँछ ।
आईएसओ २२३०१ प्रमाणपत्र प्राप्त गरी अम्बे स्टिल्स र जयअम्बे स्टिल्सले नेपालमा नयाँ मापदण्ड स्थापना गरेका छन्,’ अम्बे र जयअम्बे स्टिल्सका निर्देशक शिवाज न्यौपानेले भने ।
यो उपलब्धिले दुवै कम्पनीको नवीनता, अन्तर्राष्ट्रिय मापदण्ड र निरन्तर सुधारप्रतिको प्रतिबद्धता उजागर गर्ने कम्पनीको भनाइ छ ।