sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सातै प्रदेशमा लगानी सम्मेलन गर्ने उद्योग वाणिज्य महासङ्घको निर्णय

Nimb long ad
Prabhu Insurance Long Ad

ढोरपाटन । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन तथा देशैभरि लगानीका सम्भावनालाई उजागर गर्न सातै प्रदेशमा लगानी सम्मेलन गर्ने भएको छ ।

महासङ्घको तेस्रो कार्यसमितिको बागलुङ जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र ढोरपाटनमा आज बसेको बैठकले सो निर्णय गरेको हो । प्रचुर सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको ढोरपाटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले महासङ्घको तेस्रो बैठक आज ढोरपाटनमा आयोजना गरिएको थियो ।

उक्त बैठकले देशमा लगानीका क्रियाकलापलाई चलायमान गराउन देशका सबै प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । त्यसैगरी सो बैठकले सन् २०२५ लाई देशका समग्र निजी क्षेत्रले पर्यटन वर्षका रुपमा मानउने निर्णय पनि गरेको छ ।

पर्यटन वर्ष मनाउने सम्बन्धी प्रचार–प्रसार आजैदेखि सुरु गर्ने र यस सम्बन्धी पत्राचार महासङ्घका देशैभरका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घमार्फत गर्ने निर्णय भएको छ ।

अध्यक्ष ढकालको गृह जिल्लामा आयोजना गरिएको सो बैठकले मुलुकमा व्याप्त आर्थिक सङ्कट घटाउँदै तरलता बढाउन असोज मसान्तभित्रै राजनीतिक तथा सरोकारवाला निकायबीच छलफल गर्न एक उच्चस्तरीय तथा सर्वपक्षीय सम्मेलन गर्ने पनि निर्णय गरेको छ ।

अध्यक्ष ढकालले महासङ्घ एवं नेपाल सरकारलेसमेत वैदेशिक लगानीका लागि आग्रह गरिरहेको वर्तमान अवस्थामा देशभित्रै लगानीको वातावरण निर्माण गरी आर्थिक चलायनमान बनाउनका लागि लगानी सम्मेलन गर्ने निर्णय भएको बताए ।

अध्यक्ष ढकालले भने, “सन् २०२५ लाई पर्यटन वर्षका रुपमा मनाउने निर्णय भएको छ र यो निर्णय मुलुकको  एक  प्रमुख पर्यटकीय क्षेत्र एवं नेपालको एकमात्र सिकार आरक्षमा बैठक बसेर गरिएको छ ।

कोरोना महामारीले थला पारेको देशको पर्यटन व्यवसायलाई उठाउनका लागि आजैदेखि पर्यटकीय क्रियाकलाप गर्न सो निर्णय सहायक सिद्ध हुने अपेक्षा गरेका छौँ ।”

त्यसैगरी पर्यटकीय क्षेत्र ढोरपाटनको पनि प्रचारप्रसार र आवश्यक प्रवद्र्धन गर्नका लागि मुलुकका समग्र उद्योगी, व्यवसायीहरुको छाता संस्था महासङ्घले बागलुङको ढोरपाटनमा बैठक आयोजना गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

“नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकहरु सिकार खेल्न मात्रै आउने प्रचलन छ, यहाँको पर्यटन पूर्वाधार र प्रचारप्रसार गर्न निजी क्षेत्रले उत्सुकता देखाएको हो”, ढाकालले भने, “ढोरपाटनको भ्रमणमा छौँ, यहाँका सम्भावनाको खोजी गर्नेछौँ”, अध्यक्ष ढकालले भने ।

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन प्रचुर सम्भावना भएर पनि ओझेलमा पर्दै परेको छ । देशका उद्योगी व्यवसायी सम्मिलत यस बैठकपछि नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा रहेको ढोरपाटनको थप विकास हुने आशा स्थानीयले गरेका छन् ।

बागलुङ उद्योग वाणिज्य सङ्घ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य सङ्घको आतिथ्यतामा ढोरपाटनमा बैठक आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

देशभरका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटन अवलोकन गर्दा पर्यटनको विकासमा सहयोग पुग्ने उनको विचार छ । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधा सम्पन्न होटलसहित अन्य व्यावसायिक योजनासमेत बन्नसक्ने अपेक्षा स्थानीयको रहेको पनि अध्यक्ष कँडेलले बताए ।

यो सिकार आरक्ष तथा प्रमुख पर्यटकीय क्षेत्र त हो नै यहाँको आलु पनि पश्चिमको बजारमा लोकप्रिय छ । यहाँ आलु र स्याउको प्रचुर सम्भावना रहेको छ ।

बैठकपश्चात् महासङ्घको कार्यसमितिमा रहेका सदस्य एवं पदाधिकारीहरुले ढोरपाटन क्षेत्रको अध्ययन, स्थलगत अवलोकन र सिकार आरक्ष कार्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा ढोरपाटनको प्रसिद्ध ढोरबराह मन्दिरका साथै समग्र जिल्लाको पर्यटनका विषयमा समेत छलफल भएको ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र्र छन्त्यालले बताए ।

ढोरपाटनमा सिकार आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, स्याउ बगैँचा, ढोरबराह मन्दिर, देउराली, निशेलढोर, सिकार आरक्ष कार्यालयको सङ्ग्रहालयलगायत ढोरपाटनमा पर्यटक भुलाउने अनेकौँ स्थान रहेका छन् ।

सिकार खेल्नका लागि विदेशी पर्यटकमात्र आउने गरेको ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटकहरु पनि बढेका छन् । तर ढोरपाटन पुग्ने सडक र त्यहाँ सुविधा सम्पन्न होटल नहुँदा भने पर्यटकलाई समस्या भइरहेको छ ।

gold
prabhu bank
nawakantipur long