stcnepal long ad
ime life insurance
national life
global ime bank long

भारतीय भूमिको मिरगञ्ज पुल भासिएपछि पूर्व क्षेत्रको आयात निर्यात प्रभावित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

विराटनगर । विराटनगर भन्सार नाकादेखि चार किलोमिटर दूरीमा पर्ने भारतीय भूमिको मिरगञ्ज पुल भासिएपछि पूर्व क्षेत्रको आयात निर्यात प्रभावित बनेको छ । बिहीबार उक्त पुल भासिएपछि विराटनगर भन्सार नाका हुँदै मालवस्तुको आयात निर्यात प्रभावित बनेको हो ।

यसअघि २०७४ साउन २९ गते क्षतिग्रस्त बनेपछि वैकल्पिक नाकाका रूपमा सुनसरीको सेतुबन्ध (भन्टाबारी) भन्सार नाकाबाट निकासी पैठारी हुँदै आएको थियो । अहिले मिरगञ्ज पुलको मध्यभाग एक फिट भासिएपछि त्यहाँबाट मालवस्तु बोकेका सवारीसाधन वारपार हुन रोकिएको छ ।

विराटनगर भन्सार कार्यालयका अधिकृत अमित तिवारीले वैकल्पिक रुटको विषयमा छलफल भइरहेकाले चाँडै नयाँ नाका सञ्चालन गरिने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ ले वैकल्पिक मार्गका रूपमा अररिया–कुर्साकाटा–जोगबनी नाका सञ्चालनका लागि सहजीकरण गरिदिन भारतीय पक्षसँग आग्रह गरेको थियो । भन्सार कार्यालयले समेत चालू अवस्थाको मार्ग र वैकल्पिक मार्ग एउटै जिल्लामा पर्ने भएकाले सहजीकरणका लागि अपिल गरेको हो ।

अधिकृत तिवारीका अनुसार भारतीय पक्षले भने सुनसरीको भीमनगर–सेतुबन्ध नाकाबाटै मालवस्तु आयात निर्यात गर्न सहजीकरण गरिने जानकारी दिएको छ ।

भारतको अररियाका डिस्ट्रिक मजिस्ट्रेटले विराटनगर भन्सार कार्यालयलाई पत्र लेख्दै सुनसरीबाट नाका सञ्चालन गर्र्र्न छलफलका लागि डाकेको अधिकृत तिवारीले जानकारी दिनुभयो ।

“छलफलका लागि भन्सार प्रमुखको टोली त्यता गएको छ । कुर्साकाटाको रुट ग्रामीण क्षेत्रबाट हुने भएकाले २५ टन क्षमताको मात्रै छ,” अधिकृत तिवारीले भन्नुभयो ।

उद्योगी व्यवसायीले सुनसरीबाट वैकल्पिक रुट प्रयोग गर्दा ४० किलोमिटर टाढा पर्ने तर कुर्साकाटाबाट १० किलोमिटर मात्रै पर्ने भएकाले सहजीकरणका लागि अररियाका डिस्ट्रिक्ट मेजिस्ट्रेटसँग आग्रह गर्दै पत्र लेखेको थियो ।

गत बिहीबार पुल भासिएदेखि विराटनगर भन्सार कार्यालयबाट हुने आयात निर्यात प्रभावित बनेको छ । बिहीबार पुल भासिनुअघि नै पार भइसकेका मालवाहक सवारीले शुक्रबार साँझसम्म भन्सार जाँचपास गराइसकेका छन् ।

त्यसपछि रेलबाट जोगबनीमा अनलोड भएका सामान मात्रै भन्सार कार्यालयमा जाँचपासका लागि भित्रने गरेको अधिकृत तिवारीले बताउनुभयो ।

तिवारीका अनुसार शनिबार ४० वटा मालवाहक सवारीसाधन भन्सार क्षेत्रमा प्रवेश गरेका थिए भने आइतबार २०–२५ वटा मात्रै छन् ।

भारतले मिरगञ्ज पुल नजिकै अर्को नयाँ पुल निर्माणको काम ९० प्रतिशत सम्पन्न गरेको छ । त्यसलाई तीव्र रूपले निर्माण सम्पन्न गर्न शुक्रबारदेखि जनशक्ति बढाएको अधिकृत तिवारीले जानकारी दिनुभयो । नयाँ पुल सञ्चालनमा नआउँदासम्म झन्डै एक महिना वैकल्पिक नाका प्रयोग गर्नुपर्ने अवस्था रहेको तिवारीले बताउनुभयो ।

पुल भत्किएपछि मिरगञ्ज पुल पारिपट्टि नेपालका लागि आयात गरिएको मालवस्तु बोकेका मालवाहक सवारीसाधनको जाम लागेको छ । वैकल्पिक मार्ग टुङ्गो लागेपछि ती मालवाहक सवारीसाधन नेपाल भित्रिने छन् ।आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
prabhu mahalaxmi
kumari