चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढे
दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

काठमाडौं । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकअनुसार (साउन–पुस) सम्ममा रु.दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा रु. एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए ।
चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ । कार्यालयको तथ्यांकअनुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको छ महिनामा रु.चार अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा रु तीन अर्ब ९० करोड ५८ लाख ०६ हजार बराबरको अलैँची निर्यात भएको थियो ।
कार्यालयको तथ्यांक अनुसार प्लाइउड २७ दशमलव ९०, सिमेन्ट क्लिङ्कर चार हजार एक सय ४१,भेनियर सिटको निर्यात दुई सय ३६ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलाम लगायत वस्तुको निर्यातमा कमी आएको छ ।
पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आर्थिक वर्षको छ महिनामा रु. १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।