चैत २५ गतेदेखि अपि पावरले हकप्रद बिक्री गर्ने
काठमाडौं । अपि पावर कम्पनीले चैत २५ गतेदेखि १ः०।३९३६ अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
अपिले हकप्रद सेयर बिक्रीका लागि चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, चैत १३ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । अपिको हकप्रद सेयरमा वैशाख १५ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । अपि पावरको हकप्रद सेयरलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।
उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । यसअघि, अपिले गत जेठ २० गतेदेखि असार ९ गतेसम्म पनि ५६ लाख ७० हजार कित्ता (२९.३८)प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट १ः०.३९३६ ९३९.३६५० अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो । अब हकप्रद बिक्रीपछि चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पुग्नेछ ।





















