stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माथिल्लो तामाकोशी विद्युत आयोजना २१ गतेदेखि सञ्चालनमा आउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । स्वदेशी लगानीमा निर्माण सुरु भएको बहुप्रतिक्षित नेपालको सबै भन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट छिट्टै सम्भवत असार तेस्रो सातादेखि बिजुली उत्पादन हुने निश्चित भएको छ ।

बिजुली उत्पादन गर्ने म्याद पटक पटक थपिँदै आएको आयोजनाको मुख्य संरचना, सुरुङ, बाँध, डिस्यान्डर र मेकानिकल परीक्षण पूरा भएपछि अब आयोजनाबाट विद्युत् उत्पादन हुने निश्चित भएको हो ।

२०६७ सालको भदौबाट निर्माण सुरु गरिएको आयोजनाको निर्माणकार्य २०७२ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि सो अवधिमा सम्पन्न हुन सकेको सकेको थिएन ।

त्यसपछि प्रत्येक वर्ष चालू वर्षमै सम्पन्न गर्ने घोषणा गरिएको थियो । चालू वर्षको हिउँदमै सम्पन्न गर्ने लक्ष्य राखिए पनि बल्ल सम्पन्न भएर आयोजना उत्पादन हुने अवस्थामा पुगेको छ।

आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्न मुख्य सुरुङमा पानी भर्ने कार्य सफलतापूर्वक सकिएको र आयोजनाबाट विद्युत् उत्पादन हुने निश्चित भएको प्रवर्द्वक अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिएका छन ।

४८ घण्टाको अवलोकनपछि सुरुङमा पानी भरिएको छ। नेपाल विद्युत् प्राधिकरणले न्यू खिम्ती सबस्टेसन र १३२ केभी खिम्ती–लामोसाँघु प्रसारण लाइनलाई सिन्क्रोनाइज गर्ने कार्य सम्पन्न भएपछि उत्पादन सुरु हुनेछ।

आयोजनाको विद्युत् प्रवाह हुने २२० केभी खिम्ती–ढल्केबर प्रसारणलाइन तयारी अवस्थामा रहेको र न्यू खिम्ती सबस्टेसनमा ‘लाइन आउट र लाइन इन’ गर्ने कार्य पनि गत असार १३ गते आइतबारबाट सुरु भएको छ । यो काम एक साताभित्र सम्पन्न भइसक्ने छ । प्रसारण प्रणालीमा जोड्नुअघि २४ घन्टाका लागि परीक्षण उत्पादन गरेर हेरिने छ। आयोजनाले परिक्षण उत्पादन असार २१ गते भित्र गर्ने तयारी गर्दैछ।

आयोजनाको विद्युत् प्रणालीमा जोड्न विद्युत् प्राधिकरणले २२०/१३२ केभी न्यू खिम्ती सबस्टेसनसँग सिंक्रोनाइज गर्न खिम्ती–लामोसाँघु प्रसारण लाइन बन्द (सटडाउन) गरेको छ । असार १३ गते आइतबारदेखि बन्द भएको यो प्रसारणलाइन असार १९ गतेबाट सुचारु हुनेछ ।

खिम्ती–लामोसाँघु प्रसारणलाइन सटडाउन भएपछि ६० मेगावाटको खिम्ती १ को विद्युत् खिम्ती–ढल्केबर प्रसारण लाइनमा पठाइएको छ ।

आयोजनाका इलेक्ट्रिकल महाशाखा प्रमुख पूर्णगोपाल रञ्जितले जतिसक्दो चाँडो आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने गरी मल्टिसर्किट लाइनको तारतान्ने काम सुरु भएको जानकारी दिएका छन् । आयोजनाबाट विद्युत् न्यू खिम्ती सबस्टेसनमा आउने र जाने गरी चारवटा ७२ मिटर अग्ला टावर निर्माण गरिएको छ । यी नेपालकै सबैभन्दा अग्ला टावर हुन् ।

सहरेटारबाट उत्तरतिरको टावरबाट माथिल्लो तामाकोसीसहित गर्जाङ–खिम्ती र लिखु–खिम्ती ३ प्रसारण लाइनबाट आएको विद्युत् सबस्टेसनमा जोडिने छ । त्यसैगरी दक्षिणतिरको टावरबाट खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमा जोडिने छ ।

४ वटा टावरको लाइन तानेपछि माथिल्लो तामाकोसीको विद्युत् काठमाडौं र तराई एकैसाथ जोड्न सकिनेछ । आयोजनाले एक सातामा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । लगत्तै अर्को साता अर्को युनिटबाट समेत ७६ मेगावाट थपेर असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने तयारी गरेको छ ।

आयोजनाले २ वटा युनिटको नो लोडमा परीक्षण गरी एक महिनाअघि नै सफल भएको बताएको छ । आयोजनाको ६ वटा युनिटमध्ये ४ वटाको पनि क्रमशः परीक्षण गर्दै भदौसम्म सबै युनिटबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

सबस्टेसनमा २२० केभी प्रसारण लाइनबाट आएको विद्युतलाई २२० केभीलाई १३२ केभीको नजिकैको सबस्टेसनबाट रूपान्तरण गरी खिम्ती–लामोसाँघुमा जोडेर काठमाडौं पठाउने संरचना तयार गरिएको छ । यो सबस्टेसन नेपालमा ढल्केबरपछिको सबैभन्दा ठूलो सबस्टेसन भएको हो ।

४७ किलोमिटर गोंगर–खिम्ती २२० केभी प्रसारण लाइनको क्लिर गर्नका लागि ठेकेदार कम्पनी केइसी इन्टरनेसनल र परामर्शदाता कम्पनी ल्याह्मेरको टोली दुवैतिरबाट परिचालन गरिएको छ । तीन दिनभित्र लाइन ठीक छ भन्ने प्रतिवेदन दिएपछि विद्युत् प्रसारण गर्ने लक्ष्य राखेको छ ।

मल्टिसर्किट लाइन र सबस्टेसन पूरा नहुँदा रामेछाप र सोलुखुम्बुको बीचमा रहेको लिखू खोलामा ३ महिनाअघि नै पूरा भएको ५४।४ मेगावाटको लिखु खोला जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन गर्न सकेको छैन ।

प्रसारणलाइन समेत तयार गरिसकेको लिखु आयोजनाको टिमसमेत मल्टिसर्किट प्रसारण लाइनलाई सघाउँदै आएको छ । माथिल्लो तामाकोसी र लिखुको विद्युत् एकै साथ सबस्टेसनमा जोड्ने लक्ष्य छ ।

आयोजनामा मुख्य परीक्षण भनेकै बाँध, बालुवा थिग्राउने पोखरी र सुरुङ हो । यो चरण पूरा भइसकेकाले पहिलो युनिटको उत्पादन सुरु भइसकेपछि असारभित्रै दोस्रो युनिटबाट पनि उत्पादन सुरु गर्ने तयारी भइरहेको छ।

ढल्केबर सबस्टेसनबाट देशका विभिन्न क्षेत्रमा पुरयाइने छ । देशभित्र बढी भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ पनि पठाउन सकिनेछ ।

२०६७ साल भदौबाट आयोजनाको ठेकेदार साइटमा परिचालन भए तापनि २०६८ जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र ऊर्जामन्त्री गोकर्ण विष्टले आयोजनाको औपचारिक शिलान्यास गरेर आयोजना निर्माणको उद्घाटन गरेका थिए । निर्माण थालेको ११ वर्षमा आयोजना सम्पन्न भई विद्युत् उत्पादनको चरणमा पुग्न लागेको छ।

आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ । आयोजना बनाउन निर्माण अवधिको व्याजबाहेक ५३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

डलरको मूल्य वृद्धि, लम्बिएको समयको प्रशासनिक खर्च र ब्याजसमेत पुँजीकरण गर्दा आयोजना बनाउन कुल लागत ८० अर्ब रुपैयाँ बढी पुग्ने सम्भावना छ ।

prabhu mahalaxmi
kumari