६ करोड ९२ लाख घाटामा रसुवागढी हाइड्रोपावर
काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा रसुवागढी हाइड्रोपावर कम्पनीले रू. ६ करोड ९२ करोड ३४ लाख खुद घाटा व्यहोरेको छ ।
कम्पनीले सार्वजनिक गरेको त्यस अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्ष नाफामा रहेको कम्पनीले गत वर्षभने घाटा व्यहोर्न पुगेको हो । अघिल्लो वर्ष चौंथो त्रैमासमा कम्पनीले रू. १ करोड ४ लाख ६२ हजार खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा व्याज आम्दानी कम भएकाले कम्पनीको नाफामा असर परेको हो ।
अघिल्लो वर्ष रू. ४ करोड ४३ लाख १४ हजार व्याज आम्दानी भएकोमा यो आम्दानी गत वर्ष रू. ९५ लाख ७५ हजार मात्र भएको छ । यस कम्पनीले रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
हालसम्म ७८ प्रतिशत भौतिक प्रगति भएको उक्त आयोजना निर्माणका लागि कम्पनीले ५१ प्रतिशत स्वपूँजी र ४९ प्रतिशत सर्वसाधारणबाट आईपीओ जारी गरी पूँजी संकलन गरेको हो ।
गत असार मसान्तसम्म आयोजना निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि विविध कारणले तोकिएको अवधिमा आयोजना सम्पन्न हुन नसकेको कम्पनीले प्रष्ट पारेको छ । संशोधित तोलिका बमोजिम आगामी असार मसान्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।
व्यापारिक उत्पादन पश्चात यस आयोजनाबाट बार्षिक रू. ६१ करोड ३८ लाख ७५ हजार विद्युत उत्पादन भई वार्षिक रू. ३ अर्ब २५ करोड आम्दानी प्राप्त हुने कम्पनीको भनाई छ ।
हाल रू. ६ अर्ब १५ करोड ७८ लाख ९० हजार चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम भने रू। १९ करोड ७९ लाख ७८ हजार ऋणात्मक रहेको छ । दिर्घकालिन कर्जा रू. ६ अर्ब ९ करोड ६३ लाख ५९ हजार लिएको कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव १२ ऋणात्मक रहेको छ । प्रतिशेयर नेटवर्थ रू. ९६ दशमलव ७८ रहेको छ ।























