हिम स्टार ऊर्जाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरेको आइपीओमा आवेदन दिने आज असार १३ गते शुक्रबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले जेठ ३० गते शुक्रबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
यसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँको आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको हो । अर्थात, स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले १ लाख ८६ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यसमा ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं. ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं। २, साविक गोली गा।विस वडा नं. १, २, ३, ४, ५ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
साथै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९३ लाख २५ हजार रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्कासन गरेको हो ।
जसअनुसार प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ९३ हजार २५० कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो ।
यस आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
इक्रा नेपालले हिम स्टार ऊर्जाको आइपीओलाई इक्र एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।