मातातीर्थ सबस्टेसनको प्रधानमन्त्री प्रचण्डले आज उद्घाटन गर्ने
काठमाडौं । उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र मस्र्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको आज उद्घाटन हुँदैछ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा दिउँसो तीन बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबस्टेसन र प्रसारण लाइन उद्घाटन गर्ने कार्यक्रम छ ।
त्रिशूली र मस्र्याङ्दी जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०÷१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।
सबस्टेसनको क्षमता ३२० एमभीए छ । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
मस्र्याङ्दी र त्रिशूलीबाट काठमाडौं उपत्यकामा भित्रिएको विद्युतलाई मातातीर्थ सबस्टेसनबाट १३२ केभीमार्फत स्युचाटार, चोभारलगायतका क्षेत्र र स्थानीय रुपमा आपूर्ति हुने छ । मातातीर्थबाट विद्युतलाई १३२ केभी प्रसारण लाइनमार्फत हेटौंडातर्फसमेत प्रवाह गर्न सकिने छ ।
नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा साढे ६ अर्ब रुपैयाँ लागतमा आयोजना निर्माण गरिएको हो ।