माथिल्लो मैलुङ खोलाको आइपीओ भोलि कात्तिक ३ गते शुक्रबार बाँडफाँट हुँदै
१ लाख २८ हजार ४२० जनाले सेयर हात पार्ने

काठमाडौं । माथिल्लो मैलुङ खोलाको आइपीओ भोलि कात्तिक ३ गते शुक्रबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार बिहान ९ः३० बजे आफ्नै कार्यालय, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ ।
यता, माथिल्लो मैलुङको आइपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्ने भएको छ । किनभने यसमा मागभन्दा १०.८० गुणा बढी आवेदन परेको छ ।
यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १२ लाख ४९ हजार १०७ जनाले कुल १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख २८ हजार ४२० जनाले मात्र सेयर हात पार्नेछन् ।
बाँकी ११ लाख २० हजार ६८७ जनाको भने हात खाली हुनेछ ।कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर आइपीओ जारी गरेको थियो । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।
केयर नेपालले डिसेम्बर ९–२०२२ मा उक्त रेटिङ दिएको थियो । यो रेटिङ डिसेम्बर ८, २०२३ सम्म बाहल रहनेछ । कम्पनीले रसुवा जिल्लास्थित मैलुङ खेलाको पानी प्रयोग गरी १४.३ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन समेत सुरु गरेको छ ।
२ कात्तिक २०८०, बिहीवार १७:०० बजे प्रकाशित