stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सहकारीमा महिला सहभागिता ५१ प्रतिशतको हाराहारीमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । काठमाडौं, माघ ८
गोदावरी नगरपालिका– १३ स्थित सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्थामा २५ सय सदस्य छन् । ३ करोड रुपैयाँ सेयर पुँजी रहेको सहकारीको २ करोड २५ लाख रुपैयाँ बराबरको त स्थिर सम्पत्ति नै छ । २१ करोड रुपैयाँ निक्षेप संकलन गरेको सहकारीले कर्जा पनि सोही अनुपातमा प्रवाह गरेको छ ।
०६३ सालबाट सञ्चालनमा आएको सहकारीमा ९ जना सञ्चालक छन् र सबै महिला । सहकारीमा सुरुदेखि नै सञ्चालकमा महिला मात्रै चुनिँदै आएका छन् । कुल सदस्य संख्याको ५१ प्रतिशत महिला रहेको सहकारीमा कार्यरत १० जना कर्मचारीमध्ये पुरुष एकजना मात्र छन् ।
अध्यक्ष शशी खड्काले सहकारीले प्रत्येक वर्ष राम्रो प्रगति गर्दै आएको बताइन् । व्यवस्थापन टिम र सञ्चालक सबै महिला हुँदा संस्था सञ्चालनमा सहज भएको संस्थाकी प्रबन्धक गायत्री खड्काको अनुभव छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघबाट ०७१÷७२ को उत्कृष्ट सहकारी संस्थाको उपाधि प्राप्त गरेको सहकारीले ०७३ सालको ६० औँ राष्ट्रिय सहकारी दिवसमा ललितपुर जिल्लाभित्र सञ्चालित नगरपालिका क्षेत्रबाट उत्कृष्ट बचत तथा ऋण सहकारी पुरस्कार समेत प्राप्त गरिसकेको छ । सहकारीले चालू आवमा गोदावरी नौधारा महिला बचत तथा ऋण सहकारीलाई पनि गाभेको छ ।
गोदावरीको नौधारा बचत तथा ऋण सहकारीमा मात्रै होइन, जहाँसुकैका सहकारीमा पनि महिलाको बाहुल्यता छ ।
सहकारीमा आबद्ध ६३ लाख ५ हजार ५ सय ८१ सदस्य मध्ये ३२ लाख १३ हजार ५ सय १४ महिला छन् । त्यस्तै कुल २ लाख ४७ हजार ८ सय २७ सञ्चालकमा ९७ हजार ५ सय १२ महिला छन् ।
नेपालको कुल जनसंख्यामा महिलाको हिस्सा ५० प्रतिशत भन्दा बढी छ । तर, हरेक क्षेत्रमा महिला सहभागिता भने न्यून छ । सहकारी भने यसको अपवाद बनेका छन् । सहकारी विभागको तथ्यांक अनुसार नेपालको सहकारी क्षेत्रमा महिलाको सहभागिता करिब ५० प्रतिशत छ । त्यसमा माथि उल्लिखित लगायत केही सहकारीको त नेतृत्व मात्र होइन, सम्पूर्ण जिम्मेवारी नै महिलाले लिँदै आएका छन् ।
सहकारी विभागको तथ्यांक अनुसार देशभर ३४ हजार ५ सय १२ सहकारी छन् । त्यसमा सञ्चालक, सदस्य र कर्मचारी गरी ६६ लाख १३ हजार ९ सय २५ मानिस आबद्ध छन् । जसमध्ये महिलाको संख्या ३३ लाख ४० हजार ६८ छन् । त्यस्तै कुल २ लाख ४७ हजार ८ सय २७ सञ्चालकमा ९७ हजार ५ सय १२ महिला छन् । सहकारीमा आबद्ध ६३ लाख ५ हजार ५ सय ८१ सदस्य मध्ये ३२ लाख १३ हजार ५ सय १४ महिला छन् । त्यस्तै ६० हजार ५ सय १७ कर्मचारी मध्ये २९ हजार ४२ कर्मचारी महिला छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महिला सशक्तीकरणको आधार नै सहकारी भएको बताइन् । नेपालमा महिलाले सञ्चालन गरेका अधिकांश सहकारीको अवस्था राम्रो हुनुले महिला आफैँले परिवर्तन चाहेको संकेत गर्ने उनको भनाइ छ । ‘महिलाहरू बिस्तारै आत्मनिर्भर बन्ने दिशामा छन,’ उनले भनिन्,‘यसको आधार सहकारी हो ।’ महिला आत्मनिर्भर नभएसम्म सशक्त बन्न नसक्ने पनि उनले स्पष्ट पारिन् ।
सहकारीमा महिला सहभागिता ५१ प्रतिशतको हाराहारीमा भए पनि अन्य क्षेत्रमा महिला उपस्थिति निकै कमजोर रहेको छ । नेपालको मन्त्रिपरिषदमा महिलाको सहभागिता १६ प्रतिशत छ भने संघीय संसद ३३ प्रतिशत छ । प्रहरीमा ८ दशमलव ८ प्रतिशत, स्थानीय तहमा २७ प्रतिशत, निजामतीमा २४ दशमलव ५ प्रतिशत, नेपाली सेनामा ४ दशमलव ७ प्रतिशत र सातै प्रदेशमा महिला सांसद ५८ दशमलव ७ प्रतिशत छ । सहकारी क्षेत्रमा भने ५१ प्रतिशत छ ।

prabhu mahalaxmi
kumari bank
kumari