धितोपत्र बोर्ड तथा नाफिजका पदाधिकारीबीच छलफल
ललितपुर । नेपाल धितोपत्र बोर्ड र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीबीच साउन ८ गते बिहीबार खुमलटारस्थित बोर्डको कार्यालयमा पुँजी बजारका समसामयिक विषय, नीतिगत सुधार तथा पत्रकारहरूको क्षमता अभिवृद्धिबारे छलफल भएको छ।
नाफिजका अध्यक्ष मेनुका कार्कीले बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्टज्यूलाई शुभकामना व्यक्त गर्दै सुरु भएको कार्यक्रममा बोर्ड र नाफिजबीच विगतदेखिको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
नाफिजका पदाधिकारीहरूले पुँजी बजारसम्बन्धी समाचार सम्प्रेषण गर्दा विविध प्राविधिक पक्षबारे विशिष्ट ज्ञान आवश्यक पर्ने भएकाले बोर्डसँगको सहकार्यमा पत्रकारहरूको क्षमता अभिवृद्धिका कार्यक्रमहरू निकट भविष्यमा सञ्चालन हुने अपेक्षा व्यक्त गर्नु भएको थियो ।
छलफलका क्रममा बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्टज्यूले पत्रकारहरूले उठाउनु भएका विभिन्न विषयमा धारणा राख्दै नेपाल धितोपत्र बोर्डलाई केवल प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) स्वीकृत गर्ने निकायका रूपमा मात्र बुझ्ने प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बताउनु भयो ।
उहाँले आईपीओ स्वीकृति बोर्डको नियमित कार्यमध्ये एक भएको उल्लेख गर्दै बोर्डको नियमन दायरा भित्र स्टार्टअप, स्वपूँजी (Equity), ऋणपत्र (Debentures) लगायत डेरिभेटिभ्स (Derivatives) कारोबार पर्ने बताउनुभयो। हाल बोर्डले ७०० भन्दा बढी संस्थाको नियमन गरिरहेको उल्लेख गर्दै संस्थागत क्षमता अभिवृद्धिमा बोर्ड केन्द्रित रहेको उहाँको भनाइ थियो।
बाेर्डका अध्यक्ष भट्टले हालै सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३ (Capital Market Development Blueprint of Nepal, 2026) कार्यान्वयनको प्रक्रिया अघि बढिसकेको जानकारी दिनु भयो। मार्गचित्रमा समावेश Short Selling, Margin Lending तथा Securities Lending and Borrowing सम्बन्धी व्यवस्थाको कार्यान्वयनका लागि अवधारणापत्र तयार भइसकेको र अन्तिम रूप दिएपछि केही दिनभित्रै सरोकारवालाको सुझावका लागि सार्वजनिक गरिने उहाँले बताउनुभयो।
वस्तु विनिमय बजार सम्बन्धी जिज्ञासामा अध्यक्षज्यूले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष योगदान गर्न सक्ने, विशेषगरी कृषिजन्य वस्तुलाई प्राथमिकतामा राखी वस्तु विनिमय बजार सञ्चालन गर्ने विषयमा आवश्यक अध्ययन भइरहेको जानकारी दिनुभयो।
उहाँले पुँजी बजार सम्बन्धी कानुनी व्यवस्था समयानुकूल बनाउन नेपाल धितोपत्र बोर्डसम्बन्धी ऐन तथा कसुर र सजाय सम्बन्धी छुट्टाछुट्टै कानुन तर्जुमाको गृहकार्य सुरु भइसकेको जानकारी दिनुभयो ।
साथै उहाँले नेपाल सरकारको आ.व. २०८३/८४ को बजेट तथा बोर्डको पुँजी बजार नीति अनुसार बोर्डको प्राथमिकता नेप्सेको पुनर्संरचना रहेको र यस सम्बन्धी कार्य छिट्टै सुरु हुने जानकारी पनि दिनु भयो ।























