विग मार्ट बाट प्लास्टिकको चामल विक्री

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार
काठमाडौं । काठमाडौंको टोखा रोडमा रहेको बिग मार्टमा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्ने प्लास्टिकको चामल बिक्रि भईरहेको भेटिएको छ । बिग मार्टको पसलबाट सोनम जिरा मसिना चामलको बोरामा प्लास्टिकको चामल भेटिएको हो । देश कोरोना भाईरसको संक्रमणले आक्रान्त परेको बेला देशकै प्रतिष्ठित मानिने बिग मार्टमा धमाधम प्लास्टिक चामल बिक्रि भईरहेको भेटिएको हो ।
बिग मार्टबाट खरिद गरेको चामल घरमा पकाएपछि गन्ध आएको र भाँडोबाट निकालेर डल्लोलाई भुँईमा फाल्दा भलिबल झै उफ्रिएपछि शंका लागेर प्रहरीलाई खबर गरेको उपभोक्ता राजन ठगुन्नाले आर्थिक सञ्जाल डटकमलाई जानकारी दिएका छन् ।
त्यस्तै एक जना प्रहरीले पनि आफ्नो घरमा पकाएको चामल पनि त्यस्तै रहेको बताएका छन् । अहिले प्रहरीले प्लास्टिकको चामलको गोदाम नियन्त्रणमा लिएको छ ।
प्रहरीले प्लास्टिकको चामल भए नभएको पत्ता लगाउन ल्याबमा पठाउने तयारी गरेको छ । यो बिषयमा बिगमार्ट टोखाका म्यानेजर बिशाल राईलाई सोध्दा कुनै जानकारी नभएको बताएका छन् ।
उनले भने, हामीलाई यो बिषयमा जानकारी नै छैन । हामीले प्याकिङ गरिएको चामल खरिद गर्ने हो । चामल कस्तो भन्ने बिषयमा आफुलाई जानकारी नहुने बताए ।
अहिले काठमाडौंमा प्लास्टिकको चामल, अण्डा र कालो दाल भेटिएको भन्ने हल्ला सुनिदै आएको छ । तर प्लास्टिकको अण्डा र दाल भने पुष्टि नभएको खाध प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।