नयाँ गभर्नर नियुक्तिका लागि बन्यो सिफारिस समिति

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार
काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले नयाँ गभर्नर चयनका लागि सिफारिस समिति बनाएको हो । समितिमा अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा र पूर्व गभर्नर विजयनाथ भट्टराई सहितको ३ सदस्य समिति गठन गरिएको हो ।
निवर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालको ५ वर्षे कार्यकाल गत चैत ५ गते सकिएको हो । नेपाल राष्ट्र बैंकमा चैत ५ गतेबाट गभर्नर पद खाली रहेको छ । हाल केन्द्रीय बैंक कै वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी दिइएको छ । सामान्यतयः सरकारले बाहलवाला गभर्नरको कार्यकाल सकिनु अघि नै नयाँ गभर्नर नियुक्त गरिसक्ने चलन भए पनि यसपटक त्यसो हुन सकेन ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था अनुसार मन्त्रीपरिषद्ले गभर्नर नियुक्ति गर्नका लागि सिफारिस समिति गठन गरेको हो । अब गभर्नरको आकांक्षीहरुको आवेदन माग हुनेछ । त्यसमध्येबाट समितिले मन्त्रिपरिषदले ३ जनाको नाम सिफारिस गर्नेछ ।
समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिहरु मध्येबाट २ जना छान्नुपर्छ ।
कम्तीमा एक जना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी व्यवस्था छ । ती तीनै जनाको नाममध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्ने व्यवस्था रहेको छ ।