कात्तिकका लागि वाणिज्य बैंकहरुको ब्याजदर : औषत ब्याजदर निरन्तर घट्दै
काठमाडौं । वाणिज्य बैंकहरुको औषत ब्याजदर निरन्तर रुपमा घटिरहेको छ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार औषत ब्याजदर घटेको हो ।
बैंकिङ प्रणालीमा अहिले पर्याप्त तरलता (लगानीयोग्य रकम) कायम रहेको र कर्जा प्रवाहमा सुस्तता आएका कारण असोजको तुलनामा कात्तिक महिनामा पनि निक्षेपको औसत ब्याजदर घटेको हो । कात्तिक महिनाका लागि २० वटा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असोजको ४.०८९५ प्रतिशतविन्दुबाट ०.०७६५ प्रतिशतविन्दुले घटेर ४.०१३ प्रतिशतविन्दुमा झरेको छ ।
त्यसैगरी, संस्थागत निक्षेपको औसत ब्याजदर पनि असोजको ३.०६६५ प्रतिशत विन्दुबाट ०.०६३५ प्रतिशत विन्दुले घटेर ३.००३ प्रतिशतविन्दु कायम भएको छ । कात्तिक महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदरमा सबैभन्दा धेरै गिरावट देखिएको छ ।
बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपको दरमा ०.८ प्रतिशत विन्दुले कमी गर्दै ३.७ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतविन्दुले घटाएर ३ प्रतिशत कायम गरेको छ । त्यसैगरी नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५ प्रतिशत विन्दुले घटाएर ३.७५ प्रतिशत र संस्थागत दर ०.२६ प्रतिशत विन्दुले घटाएर २.७५ प्रतिशत बनाएको छ ।
प्रभु बैंकले पनि व्यक्तिगततर्फ ०.३ प्रतिशत विन्दुले ब्याजदर घटाएर ४.२५ प्रतिशतमा झारेको छ । नेपाल एसबिआई बैंकले व्यक्तिगतमा ०.१ प्रतिशतविन्दु (नयाँ दर ४ प्रतिशत), स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत विन्दुले घटेर ३.७ प्रतिशत र कुमारी बैंकले ०.०३ प्रतिशत विन्दुले घटाएर ३.७ प्रतिशत कायम भएको छ ।
त्यस्तै कात्तिक महिनाका लागि हिमालयन बैंकले भने व्यक्तिगत दर ४ प्रतिशत मै स्थिर राख्दै संस्थागत दरमा ०.२५ प्रतिशत विन्दुले कटौती गरी ३.२५ प्रतिशत बनाएको छ । कात्तिक महिनामा एभरेष्ट बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएर ३.७५ प्रतिशत पुर्याएको छ भने संस्थागत दर ३.२५ प्रतिशत मै यथावत राखेको छ ।
कात्तिक महिनाका लागि १३ वटा वाणिज्य बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तर्ता दिएका छ । कात्तिक महिनामा सानिमा बैंकले अघिल्लो महिना कै ४.५ प्रतिशत, एनएमबि बैंक ४.५ प्रतिशत, माछापुच्छ्रे बैंक ४.५ प्रतिशत, कृषि विकास बैंक ४.१५ प्रतिशत, नेपाल बैंक ४.१५ प्रतिशत, लक्ष्मी सनराइज बैंक, ४ प्रतिशत, एनआईसी एसिया बैंक ४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ४ प्रतिशत, प्राइम कमर्सियल बैंक ४ प्रतिशत, ग्लोबल आइएमई बैंक ४ प्रतिशत, सिटिजन्स बैंक ३.८५ प्रतिशत, र सिद्धार्थ बैंक ३.७६ प्रतिशत रहेको छ ।






















