stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि व्यवसायी चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा समर्थक उद्योगी व्यवसायीहरुको भेला गर्दै ढकालले उम्मेदवारी घोषणा गरेका हुन् । उनले पुस १७ गते गृह जिल्ला बाग्लुङबाट उम्मेदवारी दिने बताएका थिए । ढकालले आज एक पत्रकार सम्मेलन गरी महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । बुधबारको भेलाबाट भने उनले औपचारिक उम्मेदवारी घोषणा तथा शक्ति प्रदर्शन गरेका हुन् ।

जलविद्युत, पर्यटन र वित्तीय क्षेत्रमा लगानी गरिरहेका व्यवसायी ढकालले अर्का प्रत्यासी किशोरकुमार प्रधानसँग चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
आगामी चैत २८ र २९ गते हुने महासंघको साधारण सभा तथा निर्वाचनका लागि किशोर प्रधानले गत फागुन १ गते बिराटनगरबाट बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यस अघि प्रधानको उम्मेदवारी घोषणा सभामा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष दिनेश श्रेष्ठ तथा पूर्वअध्यक्षहरू पशुपति मुरारका तथा कुशकुमार जोशी पुगेका थिए ।
बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार चैत २८ गतेबाट शेखर गोल्छा महासंघको अध्यक्ष बन्नेछन् । विधानको विद्यमान व्यवस्था अनुसार नै अहिले बरिष्ठ उपाध्यक्षमा निर्वाचत हुने व्यक्ति नै आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्नेछन् ।

ढकालले उद्योगी व्यवसायीको सधै साथमा रहेर आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् । ढकालले निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षित अभिभावकत्व नपाएको उल्लेख गरेका छन ।
ढकालले लगानीको वातावरण बन्दै गएको र तीनै तहका सरकारले लगानी भिर्याउन प्रतिस्पर्धा गरिरहेको बताउँदैे निजी क्षेत्र आर्थिक समृद्धि र रोजगारी सिर्जनाको खम्बा भएकाले राज्यले सँगसँगै लैजानु पर्ने समेत उल्लेख गरे।
प्रधान र ढकालको उम्मेदवारी घोषणासँगै महासंघमा प्रष्ट रुपमा दुई धारबीच चुनाव हुने तय भएको छ । दुवैतर्फका उम्मेदवारहरू प्रभावशाली व्यवसायीहरूलाई आफ्नो कित्तामा तान्न लागि परेका छन् ।
ढकालको उम्मेदवारी घोषणा कार्यक्रममा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ तथा पूर्वअध्यक्षहरू सुरज वैद्य र चण्डीराज ढकाल समेतको उपस्थित रहेका थिए ।

चन्द्रप्रसाद ढकालको परिचय
बागलुङको अमलाचौरमा वि.सं. २०२२ मा जन्मिनुभएका ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति हुनुहुन्छ । उहाँ महासंघमा यस अघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गर्नुभएको छ ।
उहाँ आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक हुनुहुन्छ ।
कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ ।
ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हुनुहुन्छ ।
समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य हुनुहुन्छ । उहाँ हाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत हुनुहुन्छ ।

kumari bank
kumari
nawakantipur long