१९ लाख ३७ हजार ४ सय ८० कर्जा खाता,विकास बैंकको कर्जा खाता घट्यो

काठमाडौं । विगत वर्षको तुलनामा कर्जा लिने ग्राहक बढेका छन तर विकास बैंकहरूमा सञ्चालनमा रहेको कर्जा खाताको संख्या भने घटेको पाइएको छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार चालु आर्थिक वर्ष २०८२ को फागुन मसान्तसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विकास बैंकहरूमा कर्जा खाता घटेको पाइएको छ ।
गत वर्ष विकास बैंकहरूमा २ लाख ८७ हजार ७ सय २९ वटा कर्जा खाता सञ्चालनमा रहेकोमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म करिव १४ हजार खाता घटेर २ लाख ७३ हजार ७ सय ३५ वटा खातामा सिमित भएको पाइएको छ।
वाणिज्य बैंक र फाइनान्स कम्पनीहरूको कर्जा खाता भने बढेको पाइएको छ। विगत दुई वर्षदेखि ठुला कर्जाको माग नभएपनि साना र मझौला कर्जाको माग भने बढेको देखिन्छ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक,१७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी सहित ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूमा कुल १९ लाख ३७ हजार ४ सय ८० वटा कर्जा खाता सञ्चालनमा रहेका छन् ।
ती कर्जा खातामध्ये वाणिज्य बैंकहरूमा १६ लाख १९ हजार ३ सय १३ खाता,विकास बैंकहरूमा २ लाख ७३ हजार ७ सय ३५ खाता र फाइनान्स कम्पनीहरूमा ४४ हजार ४ सय ३२ खाता सञ्चालनमा रहेको पाइएको छ ।
विकास बैंकको यो खाता संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ हजार नौ सय ९४ वटाले कम रहेको देखिन्छ । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूमा कुल २ लाख ८७ हजार ७ सय २९ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका थिए ।
राष्ट्र बैंक स्रोतका अनुसार चालु आर्थिक वर्षको पछिल्लो अवधिमा वाणिज्य बैंकहरूमा मात्र कुल १६ लाख १९ हजार ३ सय १३ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३ हजार ३६ वटा खाताले बढी छ ।
गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूमा कुल १५ लाख ४६ हजार २ सय ७७ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका थिए ।
यसैगरी फाइनान्स कम्पनीहरूमा पनि चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुल ४४ हजार ४ सय ३२ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक हजार ९ सय ६५ वटाले बढी छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा कुल कर्जा खाताको संख्या ४२ हजार ४ सय ६७ वटा थियो ।
चालू आर्थिक वर्षको पछिल्लो अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेको कुल कर्जा खाता १९ लाख ३७ हजार ४ सय ८० वटा रहेको छ। गत वर्ष यो खाता १८ लाख ७६ हजार ४ सय ७३ वटा मात्र रहेको थियो। कर्जा खाता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१ हजार ७ वटाले बढेको राष्ट्र बैंक स्रोतले बताएको छ ।
निक्षेप खाता ५ करोड ८४ लाख
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो अवधिमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या ५ करोड ८३ लाख ९९ हजार ७ सय ८४ वटा पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ लाख ९९ हजार ६४ वटाले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या ५ करोड ४४ लाख ७ सय २० रहेको थियो ।
यस्तै २० वटा वाणिज्य बैंकहरूमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या पछिल्लो अवधिमा ५ करोड ६३ हजार ५ सय ३ पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ लाख ५५ हजार ८ सय ३० वटाले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूमा कुल ४ करोड ६६ लाख ७ हजार ६ सय ७३ वटा निक्षेप खाताहरू सञ्चालनमा रहेका थिए ।
यसैगरि १७ वटा विकास बैंकहरूमा पछिल्लो अवधिमा ७३ लाख ८७ हजार ८ सय २१ वटा निक्षेप खाताहरू सञ्चालनमा रहेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ लाख ४५ हजार ९ सय ३५ वटाले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूमा कुल ६९ लाख ४१ हजार ८ सय ८६ वटा निक्षेप खाताहरू सञ्चालनमा रहेका थिए ।
यस्तै १७ वटा फाइनान्स कम्पनीहरूमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा कुल ९ लाख ४८ हजार ४ सय ६० वटा निक्षेप खाताहरू सञ्चालनमा रहेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७ हजार २ सय ९९ वटाले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा यसरी सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या ८ लाख ५१ हजार १ सय ६१ राष्ट्र बैंक स्रोतले जनाएको छ ।