stcnepal long ad
himalayan life insurance long ad

नयाँ सरकार गठनसँगै अर्थतन्त्र चलायमान

जनतामा अब राजनीतिक स्थिरता हुन्छ,आर्थिक विषयले महत्व पाउन सक्छ,

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेस जस्ता ठुला दलहरूको गठबन्धनमा नयाँ सरकार बनेसँगै नेपाली जनतालाई केही उत्साहित बनाएको छ।

जनतामा अब राजनीतिक स्थिरता हुन्छ,आर्थिक विषयले महत्व पाउन सक्छ,घर जग्गाकारोवार,सेयर बजार,बन्द–व्यापार,उद्योगधन्दा सञ्चालन हुन्छ,कृषि उत्पादन बढछ,रोजगारी सिर्जना हुन्छ,आयात व्यापार बढछ,त्यसले राजस्व पनि बढाउछ, सरकारले सुशासन र छिटोछरितो सेवा देला भन्ने झिनो आशा पलाएको छ। सरकार परिवर्तन हुनु मात्र ठूलो कुरा होइन, सरकार समय–समयमा परिवर्तन भइरहन्छ ।

तर यसरी गठन भएका सरकारहरूले मुलुकमा राजनीतिक स्थिरता, शान्ति सुव्यवस्था कायम, सुशासन,भ्रष्टाचार नियन्त्रण, छिटोछरितो प्रशासनिक सेवा, विकास र निर्माणका काम अगाडि बढाउने र कृषि उत्पादन सहित रोजगारी बढाउने काम गर्नु पर्दछ। अहिलेको सरकार परिवर्तनले थोरै भएपनि नागरिकमा नयाँ आशा र भरोसा जगाएको छ ।

त्यसैले अब सरकारले आर्थिक गतिविधि चलायमान गराउने,भ्रष्टाचार नियन्त्रण गर्ने,सुशासन कायम गर्ने,विकास निर्माणका कामलाई तिव्र गतिमा अगाडि बढाउने, मंहगी नियन्त्रण गरि जनतालाई राहत दिने,कृषि उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने कुरामा आफ्नो ध्यान केन्द्रित गर्नु पर्दछ।

सरकारले मुलुकको विकास, सुशासन कायम गर्दै आमजनताको हित हुने गरी उत्पादन बढाउदै आर्थिक चलायमान गराउने काम गर्ने प्रतिबद्धता जनाएको छ ।

एमालेका अध्यक्ष तथा नयाँ प्रधानमन्त्री केपी शर्मा ओली यसमा प्रतिवद्व देखिन्छन। यसअघि पनि उनी प्रधानमन्त्री हुँदा इमान्दारीका साथ काम गरेकाले उनले यसपटक पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन । यो राम्रो कुरा हो।

प्रधानमन्त्री ओलीले मनसुनका कारण मुलुकका केही स्थानमा बाढी,पहिरो,कटान र डुबानबाट सडक, पुल भत्केका र जनधनको क्षति भएकोमा चिन्ता व्यक्त गर्दै देशको भौगोलिक स्थितिले पनि यस्ता विपतबाट जोगिन कठिनाइ भएको बताएका छन ।

हाम्रो कठिन र जटिल पहाडी र हिमाली भुबनावटले पनि वर्षाद याममा प्राकृतिक जोखिम बढने गर्दछ। यसमा जनता आफै सचेत हुनु पर्दछ। नयाँ सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले पनि दैवीविपत्ति अर्थात प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेको छ ।

देशभर बाढी,डुबान,कटान र पहिरोबाट पिडितको उद्दार,उपचार र राहत कार्यलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको छ। भत्किएका सडक र पुलको तत्कालै मर्मत गर्ने काम गरिरहेको छ। मृतक परिवारजनलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ।

प्रधानमन्त्री ओलीले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका काम गर्न गृह मन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन।

गृह मन्त्री लेखकले पनि ती काम उच्च प्राथमिकतामा साथ काम गरिरहेका छन । प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पपीडितको आवास निर्माणका लागि छिट्टै किस्ता रकम उपलब्ध गराउने पनि प्रतिवद्वता जनाएका छन ।

प्रधानमन्त्री ओलीले एक वर्षभित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा अलपत्र पर्ने अवस्था आउन नदिने प्रतिवद्वता जनाउदै बालबालिका भविष्यका कर्णधार हुन तिनलाई फस्टाउन दिनुपर्छ भनेका छन।

प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदको पहिलो बैठकबाट सिनियर सचिव लिलादेवी गडतौलालाई कामु मुख्य सचिव बनाएका छन। नेपालको प्रशासनिक इतिहासमा उनी निजामती सेवाको उच्च पदमा पुग्ने पहिलो नेपाली महिला बनेकी छिन।

२०५२ सालमा कानुनको शाखा अधिकृत पास गरि सरकारी सेवा गरेकी कामु मुख्य सचिव गडतौलाको सेवा अवधि आगामी भदौ १५ गते सकिदैछ। त्यसपछि गृह सचिव एकनारायण अर्याल वा महिला, बालबालिका तथा जेष्ठ नागरिक सचिव दिनेश भट्टराई मध्ये एक जना सचिव मुख्यसचिवमा बढुवा हुने सम्भावना छ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार,सुचना तथा प्रविधि सचिव रामकृष्ण सुवेदीलाई मुख्यसचिव बनाउन तात्कालिक निमित्त मुख्यसचिव गडतौलालाई दबाब दिएका थिए,तर उनले निर्णय प्रमाणित गर्न नमान्दा सुवेदीको मुख्यसचिव बन्ने धोका अधुरै रहन गएको छ।

प्रधानमन्त्री ओलीले पहिलो मन्त्रीपरिषद बैठकबाटै कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा तीन सय दिनभित्र प्यारापिट र फ्लड लाइटको व्यवस्था गर्ने निर्णय गरेर युवा क्रिकेटप्रेमी समुदायको मन जितेका छन।

विगत दुई( तीन वर्षदेखि नेपालको घरजग्गा,सेयर कारोवारमा मन्दि छ। त्यसैले ७२ लाख जनताको लगानी र ३६ लाख सकृय सेयर लगानीकर्ता भएको सेयर बजार उकास्ने मौद्रिक नीति ल्याउन पहल गर्नु पर्दछ।

नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिन अर्थ मन्त्रालय पुगेका नेपाल सेयर बजार एशोसिएशनका प्रतिनिधिहरुलाई अबका दिनमा आम लगानीकर्ताको हित र समग्र पुँजी बजारको विकासका लागि सबै एकजुट भएर अघि बढ्ने बताएर सेयर बजार बढन नसकेका कारण पत्ता लगाएर समाधान गर्ने प्रतिवद्वता जनाएका छन ।

एशोसिएसनका अध्यक्ष सागर ढकालले नवनियुक्त अर्थ मन्त्रीबाट पूँजी बजारले यसको सुधार र विकासका लागि अग्रगामी नेतृत्वको आशा गरेको भन्दै यहाँबाटै यसको सम्बोधन हुने आशा गरेको थिए।

साथै अध्यक्ष ढकालले नयाँ अर्थ मन्त्री पौडेललाई सफल कार्यकालको शुभकामना तथा बधाई दिएका थिए। त्यस भेटमा अर्थ मन्त्री पौडेलले लगानीकर्ताहरूलाई आश्वस्त पार्दै पूँजी बजार प्रति आफू सकारात्मक रहेको र यस क्षेत्रको विकास र स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्ने प्रतिवद्वता जनाएका थिए।

नयाँ अर्थ मन्त्री आएपछि सेयर बजारको नेप्से र कारोवार अंक पनि बढेको छ।
अर्थ मन्त्रीमा पौडेलको प्रवेशसँगै सेयर बजार नेप्से परिसूचकमा उछाल आएको छ । साताको तेस्रो कारोबार दिन गत साउन १ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७०.१८ अंकले बढेर २२४०.४१ बिन्दुमा पुगेको छ । गत असार ३१ गते सोमबार नेप्से १७.१८ अंकले घटेर २२४०.४१ बिन्दुमा बन्द भएको थियो ।

तर साउन १ गते कारोबारमा आएका २३४ कम्पनीको शेयरमूल्य बढेको छ, आठ कम्पनीको शेयरमूल्य घटेको छ । शेयर बजार बढेसँगै कारोबार रकममा पनि उछाल देखिएको छ । साउन १ गते बजारमा ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत असार ३१ गते सोमबार नेप्सेमा आठ अर्ब ७३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

साउन १ गते ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको २१ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। यसरी साउन १ गते सर्वाधिक मूल्य बढ्ने कम्पनीहरूमा सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनी र मन्दाकिनी हाइड्रोपावर रहेका छन् ।

हिजो यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको थियो । नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर, एनआइबीएल ग्रोथ फण्ड र लुम्बिनी विकास बैंक डिबेञ्चरको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर ३ प्रतिशत तल आएको छ ।

यस अवधिमा अन्तर बैंक ब्याजदर २।९३ प्रतिशत रहेको छ । केही समयअघिदेखि ठप्प रहेको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी केही मात्रामा बढ्न थालेको छ । राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाको निक्षेप ६४ खर्ब ८२ अर्ब रुपैयाँ रहेको छ ।

गत असार ३० गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ७ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५१ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४५ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ९६ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

बैंकिङ प्रणालीमा कर्जा प्रवाह बढ्न थालेसँगै सिडि रेसियो पनि बढेको छ । यस अवधिमा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७७.६१ प्रतिशत रहेको छ । यसरी नयाँ सरकार गठनसँगै अर्थतन्त्र चलायमान हुन थालेको संकेत मिलेको छ।