आज असोज २३ गते मंगलबारदेखि चिरख्वा हाइड्रोपावरको सर्वसाधारणका लागि आइपीओ बिक्री खुला
यसअघि यस कम्पनीले १०% अर्थात् ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आज असोज २३ गते मंगलबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । यसअघि यस कम्पनीले १०% अर्थात् ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।
२% अर्थात् १६ हजार कित्ता सामूहिक लगानी कोष र ५% अर्थात् ४० हजार कित्ता कर्मचारीचारीलाई बाँडफाँट गरिसकेको छ । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता सेयर निष्कासन गरेको थियो ।
स्थानीले २ लाख ४ हजार ७ सय कित्ता सेयरको लागि मात्रै आवेदन दिएकाले बाँकी रहेको १ लाख ९५ हजार ३ सय कित्ता पनि थप गरेर कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि सेयर निष्कासनमा ल्याएको हो ।
यसमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ ।
इक्रा नेपालले २०७९ साल फागुन १ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० साल फागुन १ गतेसम्म बाहल रहनेछ ।यस जलविद्युत उत्पादन केन्द्र भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नं १,२ र ३ मा रहेको छ ।
कम्पनीले भोजपुर जिल्लास्थित चिरख्वा खेलाको पानी प्रयोग गरी ४।७ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । यो आर्थिक वर्ष २०७७/०७८ सम्मको सम्पतिहरुको ह्रासकट्टि गरिसकेपछिको रकमलाई कुल लागतमा देखाएको कम्पनीको भनाइ छ । त्यस्तै, प्रतिमेगावाट अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.३९ वर्ष छ भने आयोजनाको डिस्काउण्ट लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष छ ।
२०८० साल जेठ मसान्तसम्म यस आयोजनाको ९८५ काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । जसमा जग्गा प्राप्ति, विस्तृत डिजाइनर, पूर्वाधार कार्य, प्रवेश मार्ग, निर्माण उर्जा र स्थायी शिविर निमार्णको शतप्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ । चिरख्वा हाइड्रोपावरको अधिकृत पुँजी ४० करोड रुपैयाँ रहेको छ ।
यस्तै, जारी पुँजी पनि ४० करोड रुपैयाँ नै रहेको छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात ४० करोड रुपैयाँ पुग्नेछ ।
यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७०%, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको हिस्सा १०% र सर्वसाधारण सेयरधनी, आयोजनामा कार्यरत कर्मचारी तथा सामूहिक लगानी कोषको हिस्सा गरेर २०५ रहनेछ ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८० पैसा कायम हुने प्रक्षेपण गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ सम्ममा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ११ पैसा हुने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ११ पैसा हुने प्रक्षेपण छ ।
२३ असोज २०८०, मंगलवार ०६:५२ बजे प्रकाशित