सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ भोलि भदौ २८ गते बिहीबार बाँडफाँट हुँदै
सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १.८६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ भोलि भदौ २८ गते बिहीबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बिहीबार आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा दिउँसो २ बजे बाँडफाँट गर्ने तयारी गरिएको हो ।
यसको प्री–अलोटमेन्ट भने गत भदौ २५ गते नै सम्पन्न भएको छ । यता, सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १.८६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
यसमा १५ लाख १० हजार ६९३ जनाले कुल १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ९ लाख जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ६ लाख १० हजार ६९३ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आइपीओमध्ये १०% अर्थात् ११ लाख २५ हजार कित्ता सेयर यसअघिनै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।
त्यस्तै, ५% अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारी र ५% (५ लाख ६२ हजार ५०० कित्ता)सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको थियो ।
यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।
२७ भदौ २०८०, बुधवार १६:३४ बजे प्रकाशित