गुडविल फाइनान्सको लाभांश पारित
काठमाडौं । गुडविल फाइनान्स (वित्तीय संस्था) लिमिटेड को २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सम्पन्न सभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आर्थिक वर्ष २०७७/७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाले निक्षेपतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा १८.८४ प्रतिशतले वृद्धि गरी रु. १० अर्ब ९ करोड ३९ लाख ८४ हजार ९९७ तथा कर्जातर्फ १५.६८ प्रतिशतले वृद्धि गरी रु. ७ अर्ब ९१ करोड ३३ लाख ८९ हजार ६८० पुर्याएको जानकारी दिँदै अध्यक्ष साखःबाट प्रस्तुत गत आर्थिक वर्षको आयव्यय विवरण सभाले पारित गरेको छ।
सभाले गत आर्थिक वर्षको नाफाबाट ९.१ प्रतिशत बोनस सेयर तथा ३.९ प्रतिशत नगद लाभांश गरी जम्मा १३ प्रतिशत वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा अनुमोदन गरेको छ।
सभामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिडका कारण नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिफल दिन सकेको जानकारी गराएका थिए।
























