तीन विकास बैंक र दुई फाइनान्स कारबाहीमा

काठमाडौँ । नियामक निकायको निर्देशनविपरीत काम गर्ने र नियमाकीय मापदण्डबाहिर गएका तीन विकास बैंक र दुई फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ ।
राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, जानकी फाइनान्स र पोखरा फाइनान्सलाई कारबाही गरेको हो ।
स्थलगत निरीक्षणका क्रममा मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको अध्यक्ष भरतराज ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएपछि सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै नारायणी डेभलपमेन्ट बैंकले न्यूनतम चुक्ता पुँजी र पुँजी कोष अनुपात कायम नगरेको, तोकिएको सीमाभन्दा बढी निक्षेप सङ्कलन गरेको र एकल ग्राहक कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।
नारायणीको सञ्चालक समितिलाई न्यूनतम चुक्ता पुँजी तथा पुँजी कोष अनुपात २०८२ असार मसान्तभित्र अनिवार्य कायम गर्न र निर्देशन पालना गर्न लिखित आदेश दिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
सालपा विकास बैंकले पनि तोकिएको न्यूनतम चुक्ता पुँजी हालसम्म पनि कायम नगरेको तथा तोकिएको चुक्ता पुँजी पुर्याउन दिइएका निर्देशन पनि पालना नगरेको सूचनामा उल्लेख छ ।
यता न्यूनतम पुँजी कोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेका पोखरा फाइनान्स र जानकी फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ ।
पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै पाँच लाख रुपियाँ जरिबाना समेत गरिएको छ । पोखरा फाइनान्सले अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा ४६ हजार ७१८ रुपियाँ २३ पैसा जरिबाना पनि तिर्नुपर्ने गरी कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।