stcnepal long ad
ime life insurance
global ime bank long

‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चलचित्र समीक्षक समाज (फिक्सन)ले ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गरेको छ । शनिबार काठमाडौँस्थित पर्यटन बोर्डको सभाहलमा एक समरोहको आयोजना गर्दै समाजले २०८१/२०८२ सालका विजेतालाई संयुक्त रूपमा अवार्ड प्रदान गरेको हो ।

समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले समीक्षा संस्कृतिले चलचित्रलाई सही दिशातर्फ डोहोर्याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “समीक्षा र चलचित्रबीच ‘लभ एन्ड हेट’को सम्बन्ध रहने गरेको छ । समीक्षक व्यावसायिक चलचित्रको दुश्मन हुन् भन्ने भावना व्याप्त छ । तर, हामी विश्वास गर्छौँ, समीक्षक र सर्जकबीचको सम्बन्ध प्रतिस्पर्धाको होइन, सहयात्राको हो । स्वस्थ समीक्षा कुनै सृजनामाथिको आक्रमण होइन, त्यो अझ उत्कृष्ट सृजनातर्फ डोहोर्याउने एउटा इमानदार संवाद हो ।”

अध्यक्ष तिमल्सेनाले चलचित्रको समीक्षा गर्नु त्यसको व्यावसायिकताको सम्भावनालाई खुम्च्याउनु नरहेको प्रस्ट पार्नुभयो ।

समरोहका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले व्यावसायिक सफलताले चलचित्रलाई राम्रो वा नराम्रो भन्न नमिल्ने बताउनुभयो । हलमा चलेका चलचित्रमात्रै राम्रा नहुने भन्दै उहाँले कतिपय राम्रा चलचित्र पनि नचल्ने गरेको बताउनुभयो । प्रचारको अभावलगायत कारणले कतिपय राम्रा चलचित्र हलमा नचल्ने गरेको उहाँको भनाइ थियो । त्यसैले राम्रा चलचित्रले अवार्ड पाएको अभिनेता श्रेष्ठले बताउनुभयो ।

“समीक्षकले दिने अवार्डमा चलचित्र व्यवसायिक पाटो नहेरी कलात्मक पक्षलाई जाँच्ने गरिन्छ, यसले चलचित्रकर्मीलाई हौसला प्रदान गर्छ । सबै राम्रा चलचित्र चलेका छैनन् । चलेन भनेर हरेस मान्नु पर्दैन, किनकि व्यावसायिक पक्षले कलात्मक पक्षलाई ओझेलमा पार्न सक्दैन”, कलाकार श्रेष्ठले भन्नुभयो ।

कलाकार श्रेष्ठले नेपाली चलचित्रलाई अझ सशक्त, विश्वसनीय र अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सर्जक तथा समीक्षक दुवैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुनेमा जोड दिनुभयो । उक्त समारोहमा चलचित्र ‘भूठान’बाट उत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गर्दै अभिनेता हरिवंश आचार्यले ‘क्रिटिक्स फिल्म अवार्ड’ पाउने व्यक्ति ‘राम्रै हुने’ विश्वास व्यक्त गर्नुभयो ।

“फिल्ममा यो भएन, त्यो भएन, यसो गरेको भए हुने थियो । यसरी बनाएको भए राम्रो हुने थियो भनेर दोषैदोष देखाउने व्यक्तिले दिएको अवार्ड भनेपछि पक्कै राम्रै होला । उहाँहरूबाट अवार्ड पाउनु भनेको गौरव हो, यो गरिमामय अवार्ड हो भन्ने लाग्छ”, अभिनेता आचार्यले भन्नुभयो ।

उक्त समरोहमा ‘क्रिटिक्स फिल्म अवार्ड २०८१’ तर्फ चलचित्र ‘शाम्बाला’, निर्देशक मीनबहादुर भाम (शाम्बाला), अभिनेता दयाहाङ राई (गाउँ आएको बाटो), अभिनेत्री थिन्ले ल्हामो (शाम्बाला), पटकथा तथा लेखन सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार), छायाङ्कन आलोक शुक्ला (आँखा), सम्पादन जे हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज), पाश्र्व सङ्गीत किशोर आचार्य (गाउँ आएको बाटो)ले अवार्ड ग्रहण गर्नुभयो ।

यस्तै, २०८१ सालमा चलचित्र ‘बोक्सीको घर’ बाट बालकलाकार सुपला सापकोटालाई अभिनय र चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’बाट कला निर्देशनमा रोशन दिवानालाई ‘स्पेसल मेन्सन अवार्ड’ प्रदान गरियो ।

यस्तै, ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ तर्फ चलचित्र ‘ऊनको स्वीटर’, निर्देशक नवीन चौहान (ऊनको स्वीटर), अभिनेता हरिवंश आचार्य (भूठान), अभिनेत्री आना शर्मा (रमिताको पिरती), पटकथा तथा लेखन नवीन चौहान र सुरज कटुवाल (ऊनको स्वीटर), छायाङ्कन सुशन प्रजापति (भूठान), सम्पादन अञ्जय खड्का (भूठान) र पाश्र्व सङ्गीत कोविद बज्र (ऊनको स्वीटर)ले अवार्ड ग्रहण गर्नुभयो ।

महालक्ष्मी चक्की आटा, नेपाल भलिबल लिगको फ्रेन्चाइज टिम अन्नपूर्ण स्पाइकर किङग्स, ओएसआर डिजिटल र नेपाल फिल्म क्याम्पसको सहकार्यमा अवार्ड सम्पन्न भएको थियो । विसं २०७१ देखि  नेपाली  चलचित्रको  गुणात्मक विकास गर्न समाजले अवार्डको आयोजना गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari