stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

एकसाथ तीन चलचित्र प्रदर्शनमा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । माघेसङ्क्रान्तिको अवसर पारेर आजदेखि तीन नयाँ नेपाली चलचित्र ‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’ नेपालभरका चलचित्र भवनमा प्रदर्शन भएको छ ।

माघेसङ्क्रान्तिलाई लक्षित गर्दै दिइने बिदालाई लक्षित गर्दै चलचित्रका निर्माता तथा निर्देशकले चलचित्रले दर्शकको साथ पाउने अपेक्षासहित चलचित्र प्रदर्शनमा ल्याएका हुन् । यी तीनै चलचित्र सामाजिक कथावस्तुमा आधारित छन् ।

चलचित्र ‘भाइरल गोर्खे’को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको छ । सामाजिक सञ्जालको बढ्दो दबदबाबीच ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई चलचित्रले मनोरञ्जनसँगै सन्देश पनि दिने अभिनेता सौगात मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चलचित्रको विषयवस्तु केवल ‘टिकटक’सँग जोडिएको भए सायद म अभिनय गर्थिन होला, तर त्यहाँ समाज र परिवेश जोडिएको छ, एउटा सामान्य व्यक्तिको भाइरल हुने लालस र त्यसले निम्त्याउने आरोहअबरोह चलचित्रमा समेटिएको छ, भाइरल हुन जति मेहनत गर्नुपर्छ, त्यति नै त्यहाँ टिकिरहन मेहनत गर्नुपर्छ, विद्यमान परिवेशमा दर्शकलाई आकर्षित गर्न चलचित्र सफल हुनेछ ।”

‘भाइरल गोर्खे’ चलचित्रको पटकथा पढेपछि सबै अभिनेता लोभिने जनाउँदै मनोरञ्जन प्रदान गर्ने समयसान्दर्भिक विषयवस्तु समेटिएको पाएपछि प्रस्ताव स्वीकार गरी चलचित्रमा जोडिएको उहाँले बताउनुभयो ।

निगम श्रेष्ठको निर्देशनमा तयार भएको उक्त चलचित्रमा अभिनेता मल्लसँगै अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमलालगायतले अभिनय गर्नुभएको छ ।

आजदेखि नै  प्रदर्शन भएको चलचित्र  ‘मिरमिरे’मा बुवा र छोरीबीचको सम्बन्धको कथा देखाइएको छ । अभिनेता दयाहाङ राईले चलचित्रले सामाजिक विषयसँगै भावनात्मक सम्बन्धका विभिन्न पाटालाई समेटेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले प्रचार सामग्रीमा चलचित्रको विषयलाई बिम्बका रूपमा प्रस्तुत गरेका छौँ, यो विषयले हरेक बुवा र छोरीलाई छोइरहेको महसुस हुन्छ, हामी सबैले मेहनत गरेर दर्शकका लागि राम्रो चलचित्र ल्याउने प्रयास गरेका छौँ ।”

उक्त चलचित्रका निर्देशक यम शेर्पाले विषयवस्तु नयाँ र मौलिक रहोस् भन्ने उद्देश्यले सबै कलाकारसँग समन्वय गरी छोटो समयमा चलचित्र तयार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कथालाई पटकथामा रूपान्तरण गरेपछि ढिला गर्नु हुँदैन भन्ने लाग्यो, हामीले मेहनत गरेर फिल्म बनाउँछौँ, तर हामीभन्दा अगाडि विदेशी चलचित्रमा यस्तै कथा देखियो भने नक्कल गरेको आरोप लाग्न सक्छ, त्यसैले यो कथालाई छिटो दर्शकमाझ पुर्‍याउनुपर्छ भन्ने लागेर निकै मेहनतका साथ काम गरेका हौँ ।”

यार्सा फिल्म्सद्वारा निर्माण गरिएको ‘मिरमिरे’मा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठलगायतका कलाकारले पनि अभिनय गर्नुभएको छ ।

आजदेखि नै प्रदर्शन भएको चलचित्र ‘गोबर गणेश’लाई ‘बल्छी धुर्वे’ का रूपमा चिनिनु भएका कलाकार मरिचमान श्रेष्ठले निर्देशन गर्नुभएको छ ।

उहाँकै मुख्य भूमिका रहेको उक्त चलचित्रमा आमालाई खुसी पार्ने सपना बोकेर गाउँको एक ठिटो सहरमा आएपछि हुने उतारचढाव देखाइएको छ । उक्त चलचित्रमा वर्षा शिवाकोटी, पूजन घिमिरे, सीतादेवी तिमल्सिना, पदम तामाङलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

तीन नयाँ चलचित्र एकसाथ प्रदर्शनमा आएता पनि चलचित्र भवनमा दर्शकको चाप देखिएको छैन । प्रायः बिदाको समयमा चलचित्रले राम्रो व्यापार गर्ने गरेको र सोही कारण माघेसङ्क्रान्ति निर्माताको रोजाइमा परेको हो ।

prabhu mahalaxmi
kumari