वैदेशिक रोजगारीमा जानेमध्ये संस्थागतबाट श्रम स्वीकृति लिएर जाने सबैभन्दा धेरै

काठमाडौँ । वैदेशिक रोजगारीमा जानेमध्ये संस्थागत (वैदेशिक रोजगार व्यवसायी कम्पनी) बाट श्रम स्वीकृति लिएर जाने सबैभन्दा धेरै रहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा छ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति लिएकोमा संस्थागत रूपमा लिने दुई लाख ८६ हजार ९४१ जना छन् ।
यस अवधि पुनः स्वीकृति लिने दुई लाख ८० हजार ३१८ जना छन् । नयाँ व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जाने एक लाख आठ हजार ४०२ र सरकारी (जिटुजी) बाट दक्षिण कोरिया, इजरायल, बेलायतका लागि १० हजार २६३ जना गएका छन् ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले पछिल्ला महिनामा संस्थागत रूपमा श्रम स्वीकृति लिनेको सङ्ख्या केही बढेको बताउनुुभयो । चालुु आर्थिक वर्षको २०८१/८२ को पछिल्लो १० महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीका लागि पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युुएई) भएको छ ।
विभागका अनुसार यस वैदेशिक रोजगारीका लागि छ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति लिएकोमा करिब दुई लाख जनाले युुएईका लागि मात्रै लिएका हुुन् ।
दोस्रो श्रम गन्तव्य देशमा साउदी अरब र तेस्रोमा कतार रहेका छन् । यस अवधिमा साउदी अरबका लागि श्रम स्वीकृति लिने एक लाख ४४ हजार र कतारका लागि एक लाख १३ हजार जना छन् ।
गत आर्थिक वर्ष २०८०/८१ मा दोस्रो र आर्थिक वर्ष २०७९/८० मा नेपालीको पहिलो श्रम गन्तव्य देश मलेसिया यस पटक भने पाँचौँ स्थानमा छ । चौथो श्रम गन्तव्य कुुवेतका लागि यस अवधिमा ३४ हजारले श्रम स्वीकृति लिएका छन् ।
मलेसियाका लागि भने चालुु आर्थिक वर्षको यस अवधिमा २९ हजारले श्रम स्वीकृति लिएका छन । यीमध्ये ठुलो सङ्ख्या पुनः श्रम स्वीकृति लिनेको छ ।
विदेश जाने बाह्र प्रतिशतले बढे
वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १२ प्रतिशतले बढेको छ । विभागका अनुसार वैदेशिक रोजगारीमा जानेको सङ्ख्या गत आर्थिक वर्ष २०८०/८१ को १० महिनाको तुुलनामा चालुु आर्थिक वर्ष २०८/र८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ११.९१ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको सो अवधिमा छ लाख १२ हजार ९१० जनाले श्रम स्वीकृति लिएकामा चालुु आवको यस अवधिमा छ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति लिएर बिदेसिएको विभागले जनाएको छ । जुुन सङ्ख्या गत आर्थिक वर्षको तुुलनामा चालुु आवमा ७३ हजार ४०३ जनाले बढी हो ।
चालुु आव २०८१/८२ को १० महिनामा सबैभन्दा बढी सङ्ख्याले मङ्सिरमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । चालुु आर्थिक वर्षको मङ्सिरमा ८४ हजार २२७ जना र सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
विभागका अनुसार माघमा ७२ हजार ४४१ जना, फागुुनमा ६८ हजार ९६३ जना, कात्तिकमा ७० हजार ९९० जना, पुस महिनामा ६७ हजार १५३, भदौमा ५७ हजार ४९३ जना र साउनमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।