macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

इन्जिनियरिङ स्नातक तहको प्रवेश परीक्षा अनिश्चित

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान आईओईको शुल्क विवादले रोकिएको स्नातक तह (बीई) को प्रवेश परीक्षा अनिश्चित बनेको छ । काठमाडौं, पोखरा, पूर्वाञ्चललगायत विश्वविद्यालयले प्रवेश परीक्षा गरेर विद्यार्थी भर्ना गर्न थाले पनि आईओईमा प्रवेश परीक्षाकै टुंगो लाग्न सकेको छैन ।

आईओईका ५ आंगिक र १० निजी क्याम्पसमा प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थी मात्रै मेरिटका आधारमा भर्ना हुन पाउने मापदण्ड तोकिएको छ ।

प्रवेश परीक्षा अन्योलले स्नातक तहमा भर्नाको तयारीमा रहेका करिब १२ हजार विद्यार्थी मर्कामा परेका छन् । भदौ १९ गते तोकिएको प्रवेश परीक्षा शुल्क विवादका कारण स्थगित भएको थियो ।

पुल्चोक क्याम्पसका सहप्राध्यापक हरिराम पराजुली संयोजकत्वको शुल्क पुनरावलोकन समितिले साउन अन्तिम साता बीईको शुल्क ५ लाख ५४ हजार कायम गर्न सिफारिस गरेको छ ।

सिफारिस अनुसार इन्जिनियरिङ डिन कार्यालयले निर्णय नलिँदा प्रवेश परीक्षा अनिश्चित बनेको हो । पराजुलीले हालको शुल्क पुनरावलोकन गर्न प्रतिवेदन बुझाइसकेको तर शुल्क तोक्ने निर्णय भइनसकेको जनाए ।

गत साउन २५ गते आईओईले ३ लाख १८ हजारबाट शिक्षण शुल्क बढाएर ७ लाख ७७ हजार पुर्‍याएको थियो । सहायक डिन सुशीलबहादुर वज्राचार्य संयोजकत्वको शुल्क सिफारिस समितिले गरेको प्रस्तावका आधारमा ७ लाख ७७ हजार शुल्क कायम गर्ने निर्णय भएको थियो ।

त्यसपछि विद्यार्थीहरूले आमरण अनशनसहितको आन्दोलन गरेका थिए । आन्दोलित विद्यार्थीसँग त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटासहित कार्यकारी परिषद्ले सम्झौता गरेर शुल्क वृद्धि रद्द गर्न निर्देशन दिएको थियो ।

पुनः शुल्क तोक्न विद्यार्थी प्रतिनिधि सहित पराजुलीको नेतृत्वमा पुनरावलोकन समिति गठन भएको थियो । समितिलाई प्रतिवेदन पेस गर्न सात दिनको म्याद दिइएको थियो । समितिले अन्तिम साता प्रतिवेदन बुझाए पनि डिन कार्यालयले शुल्क तोक्न नसकेको एक उपप्राध्यापकले जनाए ।

आईओईमा २०५३/२०५४ सालदेखि शुल्क वृद्धि भएको छैन । त्यतिबेला शुल्क तोक्दा वार्षिक १० प्रतिशतले वृद्धि गर्दै लैजाने भनिएको थियो ।

तर वार्षिक रूपमा शुल्क बढाउन असक्षम डिन कार्यालयले एकै पटक दोब्बरभन्दा बढी शुल्क वृद्धि गरेको थियो । पराजुलीले २०५४ यता वार्षिक ७ प्रतिशतको दरले शुल्क वृद्धि हुने हिसाबले ५ लाख ५४ हजार शुल्क तोकिएको बताए ।

उक्त शुल्क आंगिक क्याम्पसको हकमा मात्र लागू हुन्छ । ‘हामीले शुल्क प्रस्ताव गरेका छौं, निर्णय गरेर कार्यान्वयनमा लैजाने डिन कार्यालयले हो,’ उनले भने ।

शुल्क निर्धारण भएपछि मात्र विद्यार्थीको प्रवेश परीक्षा सञ्चालन गरेर भर्ना लिने डिन कार्यालयले बताउँदै आएको छ । पुनरावलोकन समितिले केमिकल र एरोनटिकल इन्जिनियरिङको शुल्क पनि ५ लाख ५४ हजार नै कायम गर्न सिफारिस गरेको छ ।

यसअघि यी दुई विषयको शुल्क ६ लाख रुपैयाँ तोकिएको थियो । समितिमा प्राध्यापक, कर्मचारी र विद्यार्थी प्रतिनिधि सदस्य थिए । सहायक डिन वज्राचार्यले उपकुलपतिसँग पनि परामर्श गरेर डिन शशिधरराम जोशीले शुल्कबारे निर्णय गर्ने जनाए ।

‘शुल्क तोकेको १५ दिनपछि मात्रै प्रवेश परीक्षा सञ्चालन गर्न सकिन्छ, सम्भवतः दसैं र तिहारको बीचमा प्रवेश परीक्षा हुन्छ,’ उनले भने, ‘फेरि विवाद नहोस् भनेर विद्यार्थीसँग पनि नयाँ शुल्कको विषयमा छलफल गर्ने काम भइरहेको छ । त्यसैले ढिला भएको हो ।’

प्रवेश परीक्षा सञ्चालन गर्नुअघि छुट विद्यार्थीलाई आवेदन फाराम भर्न २र३ दिन मौका दिनेसमेत उनले जनाए । ‘विद्यार्थीलाई अन्योल भएको हुन सक्छ, प्रवेश परीक्षा हुँदै नहुने होइन, केही दिनलाई स्थगित मात्र भएको हो,’ उनले भने ।

प्रवेश परीक्षा ढिला गर्दा विद्यार्थी विदेश र अन्य विश्वविद्यालयमा भर्ना हुन जाने र अन्तिममा आईओईको सिट खाली हुने जोखिम हुने अध्यापकहरूको भनाइ छ । ‘सकभर विद्यार्थी आईओईमा पढ्न चाहन्छन्, त्यहाँ नपाए मात्र अन्य कलेजमा जाने हुन्,’ एक अध्यापकले भने, ‘आईओईमै प्रवेश परीक्षा र भर्ना ढिलो हुँदा पछि विद्यार्थी नपाउने हुन सक्छ, अन्यत्र भर्ना खुलिसकेको छ ।’ आईओईका १५ कलेजमा ४ हजार २३ भर्ना हुन पाउने कोटा तोकिएको छ ।

ती कोटाका भर्ना हुन करिब १२ हजार विद्यार्थीले प्रवेश परीक्षा दिने अनुमान छ । आंगिक क्याम्पसमा नियमिततर्फ ६ सय १० र पूर्ण शुल्कीय कार्यक्रममा १ हजार ४ सय ३० विद्यार्थी भर्ना हुन पाउँछन् । नियमित भनेको शिक्षण शुल्कमा छात्रवृत्ति पाउने कोटा हो । आईओईका निजी कलेजले भने विद्यार्थीसँग १६ लाखसम्म शिक्षण शुल्क लिँदै आएका छन् ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

 

८ असोज २०८०, सोमवार ०६:२६ बजे प्रकाशित

NTA long ad