माघ २६ गतेदेखि स्टान्डर्ड चार्टर्ड बैंकले २४ लाख इकाई ऋणपत्र बिक्री गर्दै

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि २४ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा कुल २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो ।
कुल इकाईमध्ये १४ लाख ४० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी ९ लाख ६० हजार इकाईमध्ये ४८ हजार इकाई सामुहिक लगानी कोषलाई बाँडफाट गरिएको छ भने ९ लाख १२ हजार इकाई सर्वसाधारणका लागि खुला हुने बैंकले जानकारी गराएको छ ।
यस ऋणपत्रमा वार्षिक १०.३० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ५ वर्ष अवधिको ‘१०.३० प्रतिशत स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटल रहेको छ ।
लगानीकर्ताहरुले फागुन १ गतेसम्म ऋणपत्रमा आवेदन दिन सक्नेछन् । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भने फागुन ११ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
चर्टर्डको ऋणपत्रमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका शाखा र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।
रेटिङ एजेन्सी इक्रा नेपालले स्टान्डर्ड चार्टर्डलाई वित्तीय दायित्व वहन क्षमतामा सबैभन्दा कम जोखिम अर्थात् उच्च सुरक्षित रहेको आधार जनाउने ‘इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल ए’ रेटिङ दिएको छ ।
१८ माघ २०७९, बुधवार ०८:५७ बजे प्रकाशित